
सल्यान, ५ असार ।
जिल्ला प्रहरी कार्यालय सल्यान जेठ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा देशभरकै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रहरी प्रधान कार्यालय तथा मातहतका तालुक निकायले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सल्यान कर्णाली प्रदेशमै पहिलो र देशभरका समकक्षी जिल्लामध्ये दोस्रो स्थानमा परेको हो । प्रहरी संगठनले देशभरका जिल्ला प्रहरी कार्यालयहरूलाई कामको चाप, भौगोलिक अवस्था, जनसंख्या तथा अन्य विभिन्न सूचकका आधारमा अलग–अलग समूहमा वर्गीकरण गर्दै मूल्याङ्कन गर्ने गरेको छ ।
सोही क्रममा २५ वटा जिल्ला समावेश रहेको समूहमा सल्यानले दोस्रो स्थान प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसअघि वैशाख महिनाको मूल्याङ्कनमा सल्यान १९औँ स्थानमा रहेको थियो । तर जेठ महिनाभर सम्पादन गरिएका सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, राजस्व संकलनमा सहयोग, समुदाय–प्रहरी साझेदारी तथा अन्य प्रशासनिक कार्यहरूको प्रगतिको आधारमा गरिएको मूल्याङ्कनमा उल्लेखनीय सुधार गर्दै सल्यान दोस्रो स्थानमा उक्लिएको हो ।
प्रहरी प्रधान कार्यालयले प्रयोग गर्ने सफ्टवेयर प्रणालीमार्फत कार्यसम्पादनका विभिन्न सूचकहरूको आधारमा स्वचालित रूपमा मूल्याङ्कन हुने भएकाले नतिजा वस्तुगत र पारदर्शी हुने प्रहरीको भनाइ छ । यही प्रणालीले जिल्लाहरूको मासिक कार्यसम्पादनको विश्लेषण गरी श्रेणी निर्धारण गर्ने गर्दछ । जेठ महिनाको मूल्याङ्कनमा प्युठान पहिलो स्थानमा रहेको छ भने सल्यान दोस्रो स्थानमा परेको हो । छोटो अवधिमै १९औँ स्थानबाट दोस्रो स्थानसम्म पुग्न सफल हुनु जिल्ला प्रहरी कार्यालय सल्यानका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
प्रहरी कार्यालयले यो सफलताले आगामी दिनमा अझ प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न, नागरिकमैत्री सेवा प्रवाह गर्न तथा अपराध नियन्त्रणका गतिविधिलाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने जनाएको छ । साथै उत्कृष्ट नतिजा हासिल गर्न सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारी, स्थानीय तह, सरोकारवाला निकाय तथा जिल्लावासीप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।