सिद्ध कुमाखमा ‘उपाध्यक्षसँग किशोरी’ कार्यक्रम सञ्चालन

कार्यक्रममा किशोरीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, व्यक्तिगत सरसफाइ, आत्मरक्षा, लैङ्गिक समानता, बालअधिकार, किशोरावस्थामा हुने परिवर्तन, आत्मविश्वास विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा जीवनोपयोगी सीपलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।


सल्यान, १६ असार ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले किशोरीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र व्यक्तिगत विकास अभिवृद्धि गर्ने उद्देश्यले ‘उपाध्यक्षसँग किशोरी’ कार्यक्रमअन्तर्गत क्षमता विकास कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा मंगलबार सिद्ध कुमाख गाउँपालिका–३ स्थित निराजन माध्यमिक विद्यालय, ढोरचौरमा सम्पन्न कार्यक्रममा विद्यालयका किशोरी विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न समसामयिक तथा जीवनोपयोगी विषयमा अभिमुखीकरण गरिएको हो ।

सिद्ध कुमाख गाउँपालिका–३ का वडाध्यक्ष जीवराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष बस्नेतले किशोरीहरू आजका मात्र नभई भोलिका सक्षम नागरिक, नेतृत्वकर्ता र समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको क्षमता अभिवृद्धिमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा, अनुशासन, आत्मविश्वास र सकारात्मक सोचका माध्यमबाट किशोरीहरूले आफ्नो भविष्य उज्ज्वल बनाउन सक्ने उल्लेख गर्दै गाउँपालिकाले उनीहरूको अधिकार, सुरक्षा र सशक्तीकरणका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा किशोरीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, व्यक्तिगत सरसफाइ, आत्मरक्षा, लैङ्गिक समानता, बालअधिकार, किशोरावस्थामा हुने परिवर्तन, आत्मविश्वास विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा जीवनोपयोगी सीपलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । महिला विकास निरिक्षक चन्द्रा देवकोटा बुढाथोकीका अनुसार किशोरीहरूलाई व्यवहारिक ज्ञान, सचेतना र नेतृत्व विकासमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता कार्यक्रमले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै सही निर्णय लिन सक्ने क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको उहाँको भनाइ छ ।

सहभागी किशोरीहरूले कार्यक्रमबाट आफूहरूले नयाँ ज्ञान, अनुभव र प्रेरणा प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । उनीहरूले यस्ता क्षमता विकासमूलक कार्यक्रम विद्यालयस्तरमै नियमित रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए । गाउँपालिकाले किशोरीहरूको समग्र विकास, सुरक्षित भविष्य र सशक्त सहभागिता सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस