सुशासन प्रवद्र्धनका लागि सिद्ध कुमाखमा सार्वजनिक सुनुवाइ

सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, सामाजिक विकास, पूर्वाधार निर्माण तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । त्यसपछि सहभागी नागरिकहरूले गाउँपालिकाबाट प्राप्त सेवा–सुविधा, विकास निर्माण र स्थानीय आवश्यकतासम्बन्धी आफ्ना गुनासा, सुझाव तथा जिज्ञासा खुलेर राखेका थिए ।


सल्यान, १७ असार ।
स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यका साथ सल्यानको सिद्धकुमाख गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकाको केन्द्र ढोरचौरमा आयोजित सार्वजनिक सुनुवाइमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाले हालसम्म गरेका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, सामाजिक विकास, पूर्वाधार निर्माण तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । त्यसपछि सहभागी नागरिकहरूले गाउँपालिकाबाट प्राप्त सेवा–सुविधा, विकास निर्माण र स्थानीय आवश्यकतासम्बन्धी आफ्ना गुनासा, सुझाव तथा जिज्ञासा खुलेर राखेका थिए ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले खानेपानी आयोजनाको दिगोपना सुनिश्चित गर्नुपर्ने, ग्रामीण सडकहरूको स्तरोन्नति तथा नियमित मर्मतमा जोड दिनुपर्ने, विद्युत् सेवा विस्तार र गुणस्तर सुधार गर्नुपर्ने, कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन आधुनिक प्रविधि, सिँचाइ र अनुदान कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।

यस्तै, कतिपय विकास निर्माणका काम समयमै सम्पन्न हुन नसकेको, केही योजना अधुरै रहेको, आवश्यक स्थानमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने, विकास निर्माणमा सबै वडालाई समान प्राथमिकता दिनुपर्ने तथा सेवा प्रवाहलाई अझ सहज, छिटो र प्रभावकारी बनाउनुपर्ने विषयमा पनि सहभागीहरूले ध्यानाकर्षण गराएका थिए । स्थानीय तहले नागरिकको अपेक्षाअनुसार कामको गति बढाउनुपर्ने र विकासका अवसर सबै क्षेत्रमा समान रूपमा पुग्नुपर्ने उनीहरूको भनाइ थियो ।

सहभागीहरूले उठाएका प्रश्न, जिज्ञासा तथा सुझावहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष भरत गिरीले सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई नागरिकका अपेक्षा, आवश्यकता र गुनासाबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले उठाइएका सुझावहरूलाई गाउँपालिकाले गम्भीरतापूर्वक ग्रहण गर्दै योजनाबद्ध रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणका केही काम विभिन्न प्राविधिक, भौगोलिक तथा बजेटीय कारणले प्रभावित भएपनि ती कार्यलाई शीघ्र सम्पन्न गर्ने गरी आवश्यक पहल भइरहेको उहाँको भनाइ छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले जनताका सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारको सफलता नागरिकको सहभागिता र सहकार्यमा निर्भर रहने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुनजंग शाहले सार्वजनिक सुनुवाइमा उठाइएका विषयहरूको तथ्यगत जवाफ प्रस्तुत गर्दै गाउँपालिकाले कानुनी व्यवस्था, उपलब्ध स्रोत–साधन र प्राथमिकताका आधारमा सेवा प्रवाह तथा विकास निर्माणका कार्य अगाडि बढाइरहेको बताउनुभयो । उहाँले नागरिकबाट प्राप्त सुझावहरूले आगामी योजना निर्माण तथा सेवा सुधारमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले पनि आ–आफ्नो क्षेत्रसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै चालु कार्यक्रम, आगामी योजना तथा सेवा प्रवाहका प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराएका थिए ।

सिद्धकुमाख गाउँपालिकाको आयोजना तथा सल्यानी दृष्टिकोण प्रालिको सहकार्यमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यान शाखाका सचिव बुद्धि पुनले गर्नुभएको थियो । कार्यक्रममा उठेका सुझाव, गुनासा र प्रतिबद्धताले गाउँपालिकाको सेवा प्रवाहलाई थप नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस