
सल्यान, १७ असार ।
कर्णाली प्रदेशस्तरीय सर्वाधिक पुरस्कार राशिको पञ्चकोशी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले ऐतिहासिक ढंगले आफ्नो नाममा लेखाएको छ । दैलेखको दुल्लुमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा बलियो टोली सुर्खेतलाई लगातार तीन सेटमा पराजित गर्दै सल्यान पहिलो पटक पञ्चकोशी कपको च्याम्पियन बनेको हो ।
फाइनल खेलमा सुरुदेखि नै उत्कृष्ट लयमा देखिएको सल्यानले सुर्खेतलाई २५–१३, २५–२० र २५–२० को सोझो सेटमा हराउँदै उपाधिसँगै नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता बनेको सुर्खेतले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । कर्णाली प्रदेश भलिबल संघको आयोजनामा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा नगर खेलकुद विकास समिति, दुल्लु नगरपालिकाको सहआयोजनामा सम्पन्न प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्लाका टोली सहभागी भएका थिए ।
सल्यानले प्रतियोगिताभर अपराजित यात्रा कायम राख्दै सबै प्रतिद्वन्द्वीलाई सोझो सेटमा पराजित गरेको थियो । कुनै पनि खेलमा सेट नगुमाई उपाधि जित्नु सल्यानका लागि थप गौरवको विषय बनेको छ । टिम व्यवस्थापक सुरेन्द्र चन्दका अनुसार, कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगितामा सल्यानले पहिलो पटक उपाधि जितेर नयाँ इतिहास रचेको हो । उहाँले यो सफलताले जिल्लाको भलिबल खेलप्रति खेलाडी, प्रशिक्षक तथा समर्थकको उत्साह थप बढाएको बताउनुभयो ।
प्रतियोगितामा सल्यानका उत्कृष्ट खेलाडी गंगाराम शर्मा ‘बेस्ट प्लेयर’ घोषित हुनुभयो । उहाँको उत्कृष्ट प्रदर्शनले टोलीलाई उपाधिसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । सल्यानका प्रशिक्षक विनोद चन्दले यो उपाधिले जिल्लाका खेलाडीको मनोबल उच्च बनाएको बताउँदै आगामी दिनमा राष्ट्रिय स्तरका प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलाडीलाई निरन्तर प्रोत्साहन, नियमित प्रशिक्षण र आवश्यक लगानी भए सल्यानले अझ ठूला प्रतियोगितामा पनि सफलता हासिल गर्न सक्ने धारणा राख्नुभयो ।
पञ्चकोशी कपको उपाधिसँगै सल्यानले कर्णाली प्रदेशको भलिबलमा आफ्नो बलियो उपस्थिति पुनः स्थापित गरेको छ । अपराजित यात्रासहित प्राप्त यो सफलताले जिल्लावासीमा खुसीको माहोल सिर्जना गर्नुका साथै आगामी प्रतियोगिताप्रति खेलाडी र समर्थकको अपेक्षा पनि थप बढाएको छ ।
प्रतियोगितामा रुकुम पश्चित तेस्रो र कालिकोट चौथो भएका छन् ।