
सल्यान, १९ असार ।
नेपालका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण देखिन थालेपछि सल्यानमा यसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा निगरानी कडा पारिने भएको छ । जिल्लाभित्र रोग भित्रिन नदिन सरोकारवाला निकायले सीमा क्षेत्रमा पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको आवतजावतमा विशेष निगरानी गर्ने निर्णय गरेका छन् । बिहीबार खलंगामा सम्पन्न बर्ड फ्लु महामारी तथा आकस्मिक रोग पूर्वतयारी, रोकथाम, नियन्त्रण एवं क्षतिपूर्ति सम्बन्धी बैठक तथा अन्तरक्रियाले जिल्लामा रोग प्रवेश हुन नदिन सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका प्रमुख प्रवेश नाका कपुरकोट, कालिमाटी, बालुवासंग्रहीलगायत स्थानबाट भित्रिने वा बाहिरिने जीवित कुखुरा, हाँस तथा अन्य पन्छी, अण्डा, मासु र पशुपन्छीजन्य सामग्रीको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, पशु चिकित्सकबाट स्वास्थ्य प्रमाणीकरण गर्ने तथा आवश्यक परे र्यापिड टेस्ट गरी मात्र ढुवानी गर्न दिने निर्णय गरेको छ । सीमा क्षेत्रमा अभिलेख व्यवस्थापनलाई समेत प्रभावकारी बनाइने जनाइएको छ ।
बैठकमा सहभागी सरोकारवालाले संक्रमण फैलिन नदिन पशुपन्छी ढुवानीमा निगरानी बढाउने, शंकास्पद अवस्थामा तत्काल नमुना संकलन गर्ने तथा आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरेर नियन्त्रणका थप उपाय अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. अनुप श्रेष्ठले बर्ड फ्लुलाई अत्यन्तै तीव्र गतिमा फैलिने संक्रामक रोगका रूपमा वर्णन गर्दै यसको नियन्त्रणका लागि समयमै सतर्कता अपनाउनु अपरिहार्य रहेको बताउनुभयो ।
उहाँका अनुसार बर्ड फ्लु यस्तो रोग हो, जसले संक्रमित फार्ममा केही घण्टाभित्रै ठूलो क्षति पु¥याउन सक्छ । ‘एकै दिन, एकै घण्टाभित्र ठूलो संख्यामा कुखुरा मर्न सक्ने अवस्था आउन सक्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार कुखुरा एक्कासि मर्नु, ज्वरो आउनु, झोक्राउनु, दाना र पानी खान छोड्नु, टाउको तथा सिउर लत्रिनु, श्वासप्रश्वासमा समस्या देखिनु, अण्डा उत्पादन घट्नु लगायतका लक्षण बर्ड फ्लुका प्रमुख संकेत हुन् ।
डा. श्रेष्ठले यो रोग मुख्यतः पन्छीजन्य भए पनि संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आउने मानिसमा पनि संक्रमण सर्न सक्ने जोखिम रहने बताउनुभयो । त्यसैले कुखुरा तथा अन्य पन्छीजन्य वस्तु राम्रोसँग पकाएर मात्र सेवन गर्न, बिरामी वा मरेका पन्छीलाई नछुन, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
उहाँका अनुसार हालसम्म सल्यानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छैन । जेठ महिनामा शारदा नदी आसपासका हाँस र कुखुराको नमुना संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणबाट संक्रमण नदेखिए पनि जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै नियमित निगरानी जारी राखिएको उहाँको भनाइ छ । ‘अहिलेसम्म जिल्लामा संक्रमणको आशंका देखिएको छैन, तर बाहिरी जिल्लाबाट आउने कुखुराका कारण जोखिम भने कायम छ’ उहाँले भन्नुभयो ।
उहाँले जिल्लाका सबै स्थानीय तहमा रहेका पशु चिकित्सक तथा प्राविधिकमार्फत नियमित रूपमा नमुना संकलन भइरहेको जानकारी दिनुभयो । संकलित नमुना जिल्ला हुँदै प्रयोगशाला परीक्षणका लागि सुर्खेत पठाइने गरिएको छ । शंकास्पद अवस्थाको खोजी तथा निगरानीलाई निरन्तरता दिइएको र आवश्यकताअनुसार खोप अभियानसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
विशेषगरी व्यवसायिक रूपमा पालिएका बोइलर र लेयर्स कुखुरा एउटै स्थानमा पालन गर्दा संक्रमणको जोखिम बढ्ने गरेको उहाँको भनाइ छ । स्थानीय जातका कुखुरामा समेत संक्रमण देखिन सक्ने भएकाले कुनै पनि जातका पन्छीलाई सुरक्षित व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘जीवित कुखुरा तथा पन्छी ढुवानी गर्ने सवारीसाधनको अनिवार्य स्वास्थ्य परीक्षण, र्यापिड टेस्ट किटको उपलब्धता, सीमा नाकामा नियमित चेकजाँच तथा पशु स्वास्थ्य प्रमाणपत्रको व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने छ, विशेषगरी बाँके, दाङ र सुर्खेतजस्ता जिल्लाबाट आउने पशुपन्छीको ढुवानीमा विशेष निगरानी आवश्यक छ’ उहाँले थप्नुभयो ।
सरोकारवालाले सचेतीकरणका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन् ।