
DCIM102MEDIADJI_0245.JPG
सल्यान, १९ असार ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले सार्वजनिक बिदाका दिन पनि गाउँपालिका तथा मातहतका वडा कार्यालयहरू खुला रहने जनाएको छ। अत्यावश्यक सेवा तथा भुक्तानी सम्बन्धी कार्यलाई निरन्तरता दिन सार्वजनिक बिदाका दिनसमेत कार्यालय सञ्चालन गरिने भएको हो।
गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै असार २० र २१ गते सार्वजनिक बिदा भए पनि गाउँपालिका कार्यालय र सबै वडा कार्यालय नियमित रूपमा खुला रहने जनाएको छ। सेवाग्राहीलाई कुनै असुविधा नहोस् र अत्यावश्यक प्रशासनिक तथा भुक्तानीसम्बन्धी काम समयमै सम्पन्न गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन जङ्ग शाहीद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक बिदाका दिन पनि सम्बन्धित कर्मचारीहरू कार्यालयमा उपस्थित भई सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ। विशेषगरी आर्थिक वर्षको अन्तिम चरणमा भुक्तानी, वित्तीय व्यवस्थापन तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यहरूको चाप बढ्ने भएकाले सेवा निरन्तर राख्न कार्यालय खुला राख्ने निर्णय गरिएको जनाइएको छ।
गाउँपालिकाले सेवाग्राहीलाई आवश्यक कामका लागि निर्धक्क भएर गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। यस निर्णयबाट आर्थिक वर्षको अन्त्यमा सेवा लिन आउने नागरिक, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालाले समयमै सेवा पाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
