
सल्यान, ११ मंसिर ।
सल्यानको शारदा नगरपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित नगर स्वास्थ्य नीति २०८३ निर्माणको प्रक्रिया अघि बढाएको छ। प्रस्तावित नीतिमा घरघरमै स्वास्थ्य परामर्श सेवा, शून्य होम डेलिभरी र ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियानलाई प्राथमिकताका साथ समेट्ने प्रस्ताव गरिएको छ।
नगरपालिकाले तयार पारेको स्वास्थ्य नीति २०८३ को प्रारम्भिक मस्यौदामाथि बिहीबार जिल्लाको सदरमुकाम खलंगामा सरोकारवालाबीच छलफल तथा सुझाव संकलन गरेको हो। आईपास नेपालको आर्थिक सहयोग तथा दलित विकास समाज सल्यानको समन्वय र साझेदारीमा आयोजित कार्यक्रममा स्वास्थ्य नीतिलाई समयसापेक्ष, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख अतिथि हरिचन्द्र बुढाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलित कानुनी व्यवस्थासँग नबाझिने गरी स्वास्थ्य नीति निर्माण गर्न लागिएको बताउनुभयो। उहाँले नीति तथा रणनीति निर्माणका क्रममा सुझाव र सहयोग प्रदान गर्ने सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेलले प्रस्तावित स्वास्थ्य नीतिमा समेटिएका प्रमुख रणनीतिबारे जानकारी गराउनुभएको थियो। उहाँले सामुदायिक नर्समार्फत घरघरमै स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने, शून्य होम डेलिभरीको अवधारणा कार्यान्वयन गर्ने तथा ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान सञ्चालन गर्ने प्रस्तावबारे प्रकाश पार्नुभयो। नगरपालिकाले केही रणनीति कार्यान्वयन गरिरहेको र केही आगामी दिनमा कार्यान्वयन गर्ने योजना बनाएको जानकारी गराउनुभयो।
त्यस्तै, नीति विज्ञ प्रताप पौडेलले २०७८ मंसिर ५ गते शारदा नगरपालिकाले पाँच वर्षका लागि पारित गरेको स्वास्थ्य नीतिको कार्यान्वयन अवस्थाबारे समीक्षा गराउनुभएको थियो। उहाँले पुरानो नीतिमा समेटिएका कार्यक्रम तथा प्रावधानको कार्यान्वयन अवस्था विश्लेषण गर्दै आगामी नीतिमा थप्नुपर्ने विषय, परिमार्जन गर्नुपर्ने प्रावधान र सुधारका क्षेत्रबारे सहभागीहरूसँग सुझाव लिनुभएको थियो।
नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न नीतिगत व्यवस्था, स्वास्थ्य सेवाको प्रभावकारिता र आगामी कार्यदिशाबारे समेत छलफल भएको थियो।
त्यस्तै, शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सामुदायिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी नगरपालिकाले स्वास्थ्य नीति निर्माण गरिरहेको बताउनुभयो। उहाँले समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्य सेवामा देखिएका आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रमलाई नीतिमार्फत अघि बढाइने जानकारी दिनुभयो।
वीरेन्द्र हमालसहित वडा नम्बर २ का अध्यक्ष सविन हमाल वडा नम्बर ४ का अध्यक्ष किशोर हमाल, वडा नम्बर वडा नम्बर ९ का अध्यक्ष हिमेन्द्र बुढाथोकी, वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र बुढा, वडा नम्बर १३ का अध्यक्ष जंगबहादुर बुढा र वडा नम्बर १५ का अध्यक्ष प्रकाश पुनलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमका विषयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार कार्यक्रमका संयोजक लोक बहादुर बिकले प्रकाश पर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण रविन्द्र विष्टले गर्नुभएको थियो।