‘दिगो खानेपानीका लागि स्रोतको संरक्षण आवश्यक’

‘सल्यानको भूगोल पनि त्यस्तै छ, बस्ती माथि छन्, खानेपानीका मुहान तल छन्, खोलाको पानी डाँडामा लैजानु सामान्य कुरा होइन्’ उहाँले भन्नुभयो ‘स्वच्छ खानेपानीको पहुँचबाट कोही नागरिक नछुटोस् भनेर नै सरकारले लिफ्ट मार्फत खानेपानीका योजना सञ्चालन गरिरहेको छ ।’

सल्यान, २७ चैत ।
खानेपानीका योजनालाई दिगो बनाउनका लागि पानीका स्रोतको संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले करोडौँ लगानी गरेर निर्माण सम्पन्न भएका खानेपानी योजना दिगो नहुदाँ नागरिकले फेरी सास्ती पाउने भएकाले यसको मर्मतसम्भार सँगै पानीका स्रोतको संरक्षण आवश्यक रहेको बताएका हुन् । खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय सल्यानको सहयोग र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा सोमबार खलंगामा भएको लिफ्ट खानेपानी तथा सरसफाई खानेपानी प्रणालीहरुको संचालन तथा व्यवस्थापन क्षमता अभिबृद्धि तालिमका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलले जिल्लाका काकाकुल बस्तीमा दशकौँ देखीको प्रयासले मात्रै खानेपानीका योजना सञ्चालन गरिएकाले यसको दिगोपना आवश्यक रहेको बताउनुभयो । ‘सल्यानको भूगोल पनि त्यस्तै छ, बस्ती माथि छन्, खानेपानीका मुहान तल छन्, खोलाको पानी डाँडामा लैजानु सामान्य कुरा होइन्’ उहाँले भन्नुभयो ‘स्वच्छ खानेपानीको पहुँचबाट कोही नागरिक नछुटोस् भनेर नै सरकारले लिफ्ट मार्फत खानेपानीका योजना सञ्चालन गरिरहेको छ ।’

विगतमा खानेपानीका लागि नागरिकले धेरै दुख पाएको उहाँको भनाइ छ । ‘स्थानिय, प्रदेश र केन्द्र सरकारले लगानी गरेर ग्रामिण भेगका उच्च बस्तीका घर–घरमा खानेपानी लगिएको छ, करोडौँका योजना २/४ बर्षमा जीर्ण हुनुहुदैन्, प्रयोग विहिन बन्नु हुदैँन्, यसमा उपभोक्ता नै सचेत र जागरुक हुनुपर्छ’ उहाँले भन्नुभयो ‘प्रत्येक योजनामा मर्मत कोष खडा गर्नुपर्छ, भैपरी आएका समस्याको तत्काल समाधान हुनुपर्छ, पानी नागरिकको जीवनसँग जोडिएकाले एक दिन पनि पानी बन्द हुनुहुदैन् ।’

खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख ज्वालाराज शाहीले पछिल्लो समय खानेपानीका मुहान सुक्दै जानथालेकाले मुहान संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । खानेपानी प्रणालीको बर्तमान अवस्था, बजारीकरणको लागी सञ्जाल निर्माण, ग्रामिण खानेपानी तथा सरसफाई सुधार, खानेपानी प्राणालीको सुचारुपना र दिगोपना, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ब्यवस्थापन पनि व्यवस्थित खानेपानीका पाटो भएको उहाँको भनाइ छ ।

उहाँले उपभोक्ता समितिको भूमिका, खानेपानी आयोजनालाई दिगो राख्नका लागि गरिनुपर्ने कार्य, आयोजना सञ्चालन गर्दा आइपर्ने समस्या समाधान लगायतका विषयमा उपभोक्ता समिति सचेत हुनुपर्ने बताउनुभयो । स्वच्छ र शुद्ध खानेपानी पु¥याउनु पहिलो प्राथमिकता रहेको भन्दै उहाँले सोलार तथा बिद्युतमा आधारित लिफ्ट खानेपानी प्रणालीमा प्रयोगमा आउने मेशिन, औजार, संरचना, प्रविधि, नियमित सञ्चालन, मर्मतसम्भार र दिगोपनाका उपायका बारेमा उपभोक्ता समिति सचेत हुनुपर्ने बताउनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष पुर्णचन्द्र राईको अध्यक्षतामा भएको तालिम तीन दिनसम्म चल्ने छ । तालिममा जिल्लाका १० वटा लिफ्ट प्रविधिको खानेपानी योजनाका २/२ जना पदाधिकारीहरुको सहभागिता रहेको छ । कार्यक्रममा लेखपोखरा लिफ्ट खानेपानीका अध्यक्ष गोविन्द केसीले लिफ्ट खानेपानी सञ्चालनका बेला देखिने समस्याका बारेमा जानकारी दिनुभएको थियो ।

तालिमको सहजीकरण लेखपोखरा लिफ्ट खानेपानी आयोजनाका सचिव टिकाराम केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस