
टिमुर प्रशोधन गरिदैँ // तस्वीर : बुद्धि पुन
सल्यान, १३ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–६ काराकोटका लोकबहादुर बुढाथोकीले बारी भरि टिमुर खेती गर्नुभएको छ । दशक अघिसम्म घरमा अचार खान मात्रै टिमुरको बोट रोप्नुभएका उहाँले अहिले बारी, कान्ला सबैतिर टिमुर खेती गर्नुभएको छ । शुरुवातमा टिमुरबाट आम्दानी गर्न सकिन्छ भन्ने सुन्दा उहाँलाई अचम्म लाग्थ्यो, तर अहिले आफैले टिमुर बेचेर वर्षेनि आम्दानी गर्न थालेपछि हर्षित हुनुहुन्छ ।
‘वर्षमा २÷४ क्वीन्टल टिमुर उत्पादन हुनु त सामान्य कुरा हो, तीन वर्षअघिमात्रै मैले तीन सय बोट टिमुर रोपेको थिएँ, अहिले उत्पादन दिन शुरु गरिसकेको छ, गत वर्ष पनि लगाएँ, यस वर्ष पनि टिमुरकै विरुवा रोपेको छु’– उहाँले भन्नुभयो– ‘अन्नबाली जस्तो दुःख कम हुने भयो, जंगली जनावरले क्षति गर्ने भएन, टिमुरबाट आम्दानी पनि नगद हुने भएकाले यसमा हौसला मिलेको छ ।’
उहाँजस्तै वडा नम्बर ६ लाम्पाटाकै तुलसी थापाले टिमुरका बिरुवा रोप्नुभएको छ । बारीका छेउ, कान्ला आदिमा टिमुर रोप्नु भएका उहाँले यस वर्ष सामूहिकरुपमै टिमुर लगाउनुभएको छ । ‘यहाँ रहेको लेकबेसी सामुदायिक वन समूहमा यहाँकै उपभोक्ताले वन विकासकै लागि ३२ सय टिमुरका बिरुवा रोपेका छौं, टिमुरसँगै तेजपातलगायतका अरु बिरुवा गरेर नौ हेक्टरमा विरुवा रोपिएको छ’– उहाँले भन्नुभयो ।
अहिले रोपिएको टिमुरले भविष्यमा राम्रो आम्दानी दिने भएकाले सामुहिक टिमुर खेतीमा हौसिएको उहाँको भनाइ छ । ‘अहिले मिचाहा प्रजाति वनमारा र जंगली बँदेलको प्रकोप जस्तै छ, यस्तो अवस्थामा खेतीपाती गर्न समस्या छ, त्यसैले वन वातारण पनि हरियाली हुने र आम्दानी पनि हुने भएकाले टिमुर खेतीमा हौसिएका हौं’– उहाँले थप्नुभयो– ‘बिरुवा रोप्ने मात्रै होइन्, विरुवाको संरक्षण, रेखदेख र हुर्काउने दायित्व पनि हामीले नै लिएका छौं, हामी नै गर्छौं ।’
गुणस्तरीय टिमुर उत्पादनमा प्रोत्साहन
यस क्षेत्रका किसानले विरुवा रोप्दादेखि फल दिने बेलासम्म वस्तुभाउको मल प्रयोग गर्छन् । अहिलेसम्म रासायनिक मल प्रयोग गरेका छैनन् । माटोको उर्वराशक्ति बचाइ राख्न, वातावरणको संरक्षण गर्न, वर्षांैसम्म उत्पादन लिइराख्न र गुणस्तरीय टिमुर उत्पादनका लागि स्थानीयले जोड दिएका छन् । विगतमा यहाँका स्थानीयले टिमुर टिप्ने, घाममा सुकाउने र व्यापारीमार्फत विक्री गर्दै आएका थिए । टिमुरको दानाको बोक्रा र गेडा सँगै हुनु, पात तथा काँडा समेत हुँदा सोचेअनुसारको आम्दानी स्थानीयले लिन सकेका थिएनन् ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाको सहयोगमा बनगाड कुपिण्डे नगरपालिकाका तीन स्थानमा टिमुर सुकाउने ड्राई हाउस स्थापना गरिएको छ । स्थानीयले टिपेको टिमुर नसुकाएर वा घाममा सुकाएर बजार पठाउँदा सोचेअनुसारको मूल्य नपाउने र घाममा सुकाएको भन्दा ड्राई हाउसमा सुकाएको टिमुरको स्वाद र गुणस्तर उच्च हुने भएकाले ड्राई हाउस स्थापना गरिएको हो । यससँगै टिमुरको ग्रेडिङ गर्न थालिएको छ । विगतमा प्रशोधन नगरी टिमुर बेच्दै आएकोमा अहिले भने टिमुरको दानाको बोक्रा, गेडा, काँडा सबै अलग बनाउँदा बजार मुल्य पनि राम्रो पाउने सुनौली बजारमा रहेको टिमुर प्रशोधन उद्योगका सञ्चालक लालमती बस्नेतले बताउनुभयो । यस वर्षदेखि टिमुर प्रशोधन गर्न थालिएको उहाँको भनाइ छ ।
‘जडिबुटीको व्यापार पहिलेदेखि नै गर्दै आएका थियौं, तर राम्रो हुन सकेको थिएन, यस पटकदेखि टिमुर प्रशोधन गरेर बजार पठाउन थालेका छौं, विगतमा ५/६ सय रुपैयाँमा बिक्री हुने टिमुर अहिले १५/१६ सयसम्म गएको छ’– उहाँले भन्नुभयो– ‘यस क्षेत्रका सबै किसानले उत्पादन गरेको टिमुर प्रशोधन गरेर मात्रै बजार पठाउने हाम्रो योजना छ ।’ सल्यान देशकै धेरै टिमुर फल्ने जिल्ला हो । टिमुरको डाँठ र पातको फेदमा तिखा तथा थेप्चा काँडाहरू हुन्छन् । टिमुर काँडा भएकै कारण जंगली जनावरको आतंक भएका ठाउँमा पनि अन्य बालीको राम्रो विकल्प हुन सक्छ । यसको फूल जेठ–असारमा फुल्छ र फल साउन–भदौतिर लाग्छ र असोज–कार्तिकतिर पाक्छ ।
वन क्षेत्रको हरियाली बढाउन मात्रै नभएर स्थानीयको हैसियत सुधारका लागि समेत टिमुर खेती अपरिहार्य भएको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका जिल्ला संयोजक डा. दिगम्बर सिंह दाहालले बताउनुभयो । यस आयोजनाले टिमुरको विरुवा रोप्ने, गोडमेल गर्ने, फल सुकाउनेदेखि प्रशोधन गर्ने कार्यमा समेत सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
सल्यानको टिमुर फ्रान्स र जर्मनीमा
जिल्लामा उत्पादित टिमुरको बजार राम्रो छ । यस वर्ष बजारमा प्रतिकेजीको ४५० देखि ६०० रुपैयाँसम्म बिक्री भइरहेको छ । ग्रेडिङ गरेको टिमुर एक हजारदेखि एक हजार ६ सय रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री हुन्छ । जिल्लाका करिब १ सय बढी किसानले फर्म नै दर्ता गरेर टिमुर खेती गरिरहेका छन् । यस बाहेक सामुदायिक बन, निजी बारी, कान्लामा समेत टिमुर खेती हँुदै आएको छ । जिल्लामा उत्पादन भएको टिमुर विभिन्न कम्पनीमार्फत देशभरका विभिन्न शहर हुँदै फ्रान्स र जर्मनीमा समेत निर्यात हुने गरेको छ ।
बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले यहाँ उत्पादन भएको टिमुर फ्रान्स र जर्मनीमा समेत निर्यात भइरहेकाले टिमुर खेतीको प्रवद्र्धन र विस्तारमा नगरपालिकाले ध्यान दिएको बताउनुभयो । टिमुरको बजारलाई थप व्यवस्थित गर्न अग्र्यानिक प्रमाणित गर्न लागिएको बताउनुभयो । ‘बनगाडको माथिल्लो भेग सुन्तला खेती हुने क्षेत्र हो, तर हावापानी नमिलेर होला विस्तारै बोट सुक्दै गएका छन्, हामीले अब टिमुर खेतीलाई बिस्तार गर्न खोजिरहेका छौं, पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाले तीनवटा वडामा टिमुर खेतीमा सहयोग गर्दै आएको छ, नगरपालिकाले बाँकी वडामा टिमुर प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ’– उहाँले भन्नुभयो– ‘किसानको उत्पादन हुनुपर्छ, वजारीकरण पालिकाले गर्छ ।’
बहुउपयोगी टिमुर
टिमुरको दाना प्रयोग हुन्छ । यसको बिक्रीबाट नगद हात पर्ने भएकाले यसलाई नगदेबाली पनि भनिन्छ । प्रायः टिमुरको अचार निकै रुचाइन्छ । यसको फल वायुनाशक, दाँतको दुःखाइ, पेट दुखेकोमा, रुघाखोकी, पिसाबसम्बन्धी समस्यामा पनि उपयोगी हुन्छ । ग्रामीण भेगमा चिसो सोस्छ भनेर चियामा यसको प्रयोग गरिन्छ । हिमालतिर जाँदा लेक लाग्छ भनेर तातो झोल खान टिमुर बोकेर जाने प्रचलन पनि छ ।
टिमुरबाट निकालिएको तेल हर्बलबाट बन्ने सामानमा उपयोग गरिन्छ । हेर्दा सहज देखिए पनि टिमुर खेतीमा थुप्रै समस्या छन् । त्यसकारण उत्पादनका आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्दै टिमुरको बाली बीमा गर्न जरुरी रहेको किसानको भनाइ छ ।