
सल्यान, २३ पुस ।
प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेटका लागि सल्यानका १४ जना खेलाडीले कर्णाली प्रदेश छनौट खेल्न लागेका छन् । क्रिकेट खेलाडी रमा बुढाथोकीको कप्तानीमा सल्यानका १४ जना खेलाडीले प्रदेश छनौट खेल खेल्न लागेका हुन् । सल्यानको महिला टिममा गौरी बोहरा, श्रुति बुढा, विमला बुढा, अंशिका केसी, सिमरन विष्ट (विकेट किपर), जेनिशा शाही, प्रमिशा सेजवाल, अप्रिशा केसी, सिमरन बस्नेत, अनुशा थापा, भूमिका विक, अमृता श्रेष्ठ र दुर्गा विष्ट रहेको क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार देखी सुर्खेतमा हुने छनौट प्रतियोगिता तीन दिन सम्म चल्ने छ । प्रतियोगितामा राम्रो र उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी प्रदेशबाट छनौट भएर प्रधानमन्त्री कप महिला टि–ट्वान्टीको राष्ट्रिय खेल खेल्न सुदुरपश्चिमको धनगढी जाने छ । टीम कोचमा शैलेश शाही र टिम व्यवस्थापकमा सुमन भडेँल रहनु भएको छ ।

यसैविच प्रदेशस्तरको छनौट खेल खेल्न जाने सल्यानी क्रिकेट टिमको मंगलबार बिदाइ गरिएको छ । शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले चिसोमा लगाउने एक–एक थान न्यायो कपडा हुडी वितरण गर्दै विदाई गर्नुभएको छ । खेलप्रति आमनागरिकको चासो बढ्दै गएको सन्दर्भमा आफ्नो र समग्र जिल्लावासीको शिरउचो राख्नेगरि खेल खेल्न सुझाव दिदैँ उहाँले सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । खेलाडीको बिदाई कार्यक्रममा शारदा नगरपालिका ११ का वडाअध्यक्ष राजेश कुमार शर्मा लगाएतको सहभागिता रहेको थियो ।