
सल्यान, १२ बैशाख ।
सल्यानको कपुरकोट गाउँपालिकामा युवाहरुको सहभागिगतामा नमुना गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका भित्रका १६ देखि २४ वर्ष सम्मका युवाहरुले नमुना युवा गाउँ सभाको अभ्यास गरेका हुन । निति निर्माण देखी कार्यान्वयन तहसम्म युवा सहभागिता बढाउने द्धेयका साथ कपुरकोट गाउँपालिकाको सभाहलमा सम्पन्न नमुना गाउँसभामा नीति कार्यक्रम, बजेट तथा कार्यविधि पेश गर्ने, छलफल गर्ने र पारित गर्ने लगायतका विषयमा युवाहरुले अभ्यास गरेका छन् ।
नमुना युवा गाउँसभा अभ्यासका लागि कपुरकोट गाउँपालिकाका ६ वटै वडाबाट छनौट भएर आएका युवाहरुलाई मंगलबार देखि तालिम प्रदान गरिएको थियो । नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरुको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरुले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरु संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरुबीच छलफल, बजेट पारित लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको सहजकर्ता तुलसीराम न्यौपानेले जानकारी दिनुभयो ।

नमुना अभ्यासपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको बताउनुभयो । यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने उहाँको भनाई थियो । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले देश विकासको मुल प्रवाहमा युवाहरूको भुमिका र उनीहरुलाई क्रियाशिल र जिम्मेवार बनाउन यी र यस्ता खालका कार्यक्रमहरुको महत्व हुने बताउनुभयो ।’
बिध्या बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, शिक्षा शाखा प्रतिनिधि रमेश आचार्य, दलित विकास समाज सल्यानका कार्यक्रम संयोजक गुमानसिंह नेपाली, आरोही अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । कपुरकोट गाउँपालिका, राष्ट्रिय युवा परिषद्, दलित विकास समाज सल्यान र Im Swedish Development Partner को आर्थिक सहयोग र युवालय (Youth for Sustainable Future) को आयोजनामा संचालित यस कार्य सञ्चालन गरिएको हो ।
युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरुमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैलि, नीति निर्माण तथा कानुनहरुको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।