सल्यानमा नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै

यस बर्षको असार २७ गतेसम्म ७ हजार ८ सय ८ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने सोही अवधिमा ६ हजार ८ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।


सल्यान, ३० असार ।
जिल्ला प्रशासन कार्यालय सल्यानबाट एक बर्षमा नयाँ नागरिकता र नाागरिकताको प्रतिलिपि लिनको संख्या उस्तै–उस्तै रहेको पाइएको छ । विगतमा नागरिकताको प्रतिलिपि भन्दा नयाँ नागरिकता लिनेको संख्या बर्षेनी बढ्दै गएको भएपनि यसबर्ष भने नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको संख्या बराबर जस्तै रहेको पाइएको छ । प्रशासन कार्यालयका अनुसार चालु आर्थिकमा ७ हजार ८ सय ८ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने सोही अवधिमा ६ हजार ८ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

तथ्यांकलाई हेर्दा यस अवधिमा नयाँ नागरिकतासँगै प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ । विगतमा नागरिकता च्यातिएमा वा हराएमा नागरिकताको जरुरत पर्ने नागरिकले मात्रै प्रतिलिपि लिने गरेका थिए । तर हाल राष्ट्रिय परिचय पत्र बनाउने नागरिकता अनिवार्य चाहिने र नागरिकता धुलिएको वा मैलिएको नागरिकताले काम नगर्ने भएपछि जिल्लामा प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको हो । नागरिताको प्रतिलिपि नागरिकले सहजै पाउने भएपनि यसको संरक्षण गर्दै सुरक्षित साथ राख्न सुझाव दिइएको प्रशासनले जनाएको छ ।

कार्यालयका अनुसार यस बर्षको असार २७ गतेसम्म राहदानीको लागि ५ हजार ८३ जनाको सिफारिस गरिएको छ भने ४ हजार ३ सय ६९ वटा राहदानी वितरण गरिएको छ । यस्तै १४ हजार ४ सय ७६ जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ भने ३ हजार २१ वटा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । यस्तै बैदेशिक रोजगार सम्बन्धिका १६ वटा निवेदन परेका छन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुबेदीले एक बर्षको अवधिमा प्रशासनले २ करोड ५९ लाख ८८ हजार ८ सय ९९ रुपैँया राजस्व संकलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु तर्फ २ करोड २१ लाख ६९ हजार ९६४ रुपैँयामध्ये ८७ दशमलव ७२ प्रतिशत र पुँजीगत तर्फ १८ लाख ९५ हजार रुपैँयाको ९३ दशमलव ६३ प्रतिशत वजेट खर्च भएको छ । यस्तै भुकम्पपश्चातको पुनर्निमाणको लागि पछिल्लोपटक लाभग्राही कायम भएको दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिका गरि ४ हजार ३ सय ६८ लाभग्राही कामय भएका छन् ।

अस्थायी आवासको निर्माणको पहिलो किस्ताका लागि प्राधिकरणबाट प्राप्त रकम ७ करोड रुपैँया मध्ये ६ करोड ८१ लाख २५ हजार निकासा भएको छ । प्रशासनले नीतिगत, कानुनी, संरचनात्मक, जनशक्ति, प्रविधि, सुशासन, सुरक्षा, विपद् व्यवस्थापन, समन्वय, आर्थिक अनुशासन र कार्यान्वयन प्रणाली सुदृढ गर्दै सक्षम र उत्तरदायी सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुबेदीले जिल्लामा शान्ति, सुरक्षा, विकास र सुशासन प्रवद्र्धन गर्न सञ्चारकर्मीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जिम्मेवार पत्रकारितामार्फत नागरिक–प्रशासनबीच सेतुको काम गर्न मिडियाले सहयोग गर्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यम र प्रशासनबीचको समन्वय र विश्वास अभिवृद्धि गर्न नियमित संवाद आवश्यक रहेको उहाँको भनाइ छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले जिल्लामा सञ्चारमाध्यम र प्रशासनबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सूचनाको सहज पहुँच, नियमित सूचना प्रवाह र प्रशासनबाट सञ्चारमैत्री वातावरणको अपेक्षा गरिएको बताउनुभयो । मिडिया नागरिकको आवाज प्रशासनसम्म पु¥याउने माध्यम भएकोले नियमित अन्तरक्रिया र संवाद अपरिहार्य रहेको उहाँको भनाइ छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डाँगी, सचिब बुद्धि पुन, कोषाध्यक्ष खकेन्द्र केसी सहित जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस