जन्मदिनको अवसरमा जनकल्याणको छात्रवासलाई आर्थिक सहयोग

सल्यान, १ साउन ।
जन्मदिनको अवसरमा सल्यानको एक सामुदायिक विद्यालयमा सञ्चालित छात्रावासका लागि आर्थिक सहयोग गरिएको छ । हाल अमेरिकामा बसोबास गरिरहनुभएका समाजसेवी मन्दिप रतन क्षेत्रीले आफ्नो जन्मदिनको अवसरमा शारदा नगरपालिका ४, तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित छात्रावासमा विभिन्न सामग्री खरिदका लागि आर्थिक सहयोग गर्नुभएको हो ।

समाजसेवी क्षेत्रीले जन्मदिनमा हुने फजुल खर्च कटौती गरेर दुर्गम क्षेत्रका विद्यालयहरूको शैक्षिक उत्थानका लागि सहयोग गर्न आफू प्रेरित भएको बताउनुभयो । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आउनुभएका क्षेत्रीले छात्रावासका लागि ३२ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । क्षेत्रीले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

जन्मदिनको अवसरमा छात्रावासका लागि आर्थिक सहयोग प्रदान गरिएकोमा विद्यालय परिवारले धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगी हातहरूले छात्रावास सञ्चालनमा थप सहजता र प्रेरणा मिलेको, साथै आगामी दिनमा पनि यस्ता सहयोगले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

जनकल्याण आधारभूत विद्यालयले जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याएको छात्रावासमा हाल साहाराविहीन, आर्थिक रूपमा अति कमजोर, वा परिवारको अभिभावकीय साथ नभएका ३० जना बालबालिका बस्दै आएका छन् । उनीहरू यस छात्रावासमा बसेर नियमित रुपमा पठनपाठन गरिरहेका छन्, जसले गर्दा यस्ता बालबालिकालाई शिक्षाको पहुँच सहज भएको छ ।

२०४६ सालमा स्थापना भएको यस विद्यालयले हालै छात्रावास सञ्चालनमा ल्याएको हो । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीका अनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र पठनपाठनमा बालबालिकालाई सधैं सक्रिय राख्ने उद्देश्यले दुई महिना अघिदेखि छात्रावास सञ्चालन गरिएको हो । छात्रावासमा बस्ने बालबालिकाको लागि बसोबास, कपडा, खानपिनलगायत सम्पूर्ण व्यवस्था निःशुल्क गरिएको सहायक प्रधानाध्यापक वलीले जानकारी दिनुभयो। स्रोत सीमित भएकाले विद्यालयले विभिन्न निकायको सहयोगमा छात्रावास सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो ।

यस विद्यालयमा तल्लो मार्के, हिवल्चा, निपाने, टिमुरखोला, मदाना, कैयनपानी, काठीगाउँ लगायतका बस्तीबाट बालबालिका अध्ययन गर्न आउने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस