
सल्यान, ४ साउन ।
‘सुन्तलाका बिरुवा छ ?’
‘छैन् !’
बागचौर नगरपालिका– ८ र ९, कोटमौलाका विभिन्न बस्तीमा पुग्ने जो–कोही किसानको पहिलो प्रश्न यतिखेर यही हुने गरेको छ । यसको मुख्य कारण हो, सुन्तलाको बिरुवामा यतिखेर सल्यानमा यस्तो माग छ, जसले किसान मात्र होइन, नर्सरी व्यवसायीहरूलाई समेत दिनभर व्यस्त बनाएको छ । केही वर्षअघिसम्म व्यापारिक हिसाबले खासै चर्चा नपाएको सुन्तलाको विरुवाले अहिले एकदमै चम्किलो सम्भावनाको रूपमा उदाएको छ ।
यहाँका किसान तथा नर्सरी व्यवसायीहरुलाई केही महिना अघिकै अर्डर अनुसारको सुन्तलाका विरुवामा बेच्न भ्याईनभ्याई छ । हिजोआज विरुवाको माग लिएर कोटमौला जाने जोकोही खाली हात फर्किने गरेका छन् । जिल्लाबासी मात्रै होइन्, मध्य तथा पश्चितक्षेत्रबाट सुन्तलाका विरुवाको माग लिएर सल्यान भित्रिने जोकोही खाली हात फर्किन्छन् । कतिपयले अर्को बर्षको लागि विरुवा राखिदिन आग्रह गर्छन् । सुन्तलाको दानाले प्रसिद्ध कोटमौला यो बर्ष विरुवाले पनि चर्चामा छ ।
डाँगीगाउँका प्रदिप डाँगी एक मेहनती युवा किसान हुनहुन्छ । जसले करिब एक दशकदेखि फलफूल नर्सरीको व्यावसायिक अभ्यास गर्दै आउनुभएको छ । कृषि जेटिए अध्ययन गरेका डाँगी प्रारम्भमा सामान्य परम्परागत खेतीमै सीमित हुनुहुन्थ्यो । तर, समयसँगै सोच फेरियो । ‘खाद्यान्नभन्दा फलफूलमा भविष्य छ’ उहाँ भन्नुहुन्छ । उहाँले अहिले नेपाल कृषि तथा पशुपक्षी फर्म नामक संस्थामार्फत सुन्तला, कागती र टिमुरका बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
यस वर्ष मात्रै उहाँले २५ हजार सुन्तलाका विजु विरुवा र १२ हजार कलमी बिरुवा बिक्री गर्नुभयो । त्यस्तै कागतिका ९ हजार र टिमुरका २५ हजारभन्दा बढी बिरुवाको बिक्री भयो । यसबाट करिब ४० लाख रुपैयाँ आम्दानी भयो भने, खर्च कटाएर २० लाख नाफा सुरक्षित रह्यो । ‘सुरुवातमा मैले विरुवा उत्पादन गर्दा ८ देखी १५ रुपैयाँमा बेचिएको विरुवा अहिले ४५ देखी ७५ रुपैयाँसम्ममा सजिलै बिक्री हुन्छ’ डाँगीले सुनाउनु भयो ‘सुन्तलाको माग यति धेरै छ कि माग अनुसारको उत्पादन दिन सकिएको छैन् ।’
उहाँले यसबर्ष अर्घाखाँची, पाल्पा, दैलेख, रुकुम, रोल्पा, कालिकोटसम्म विरुवा पठाउनुभएको छ । आउँदो बर्षका लागि करिब सुन्तलाकै मात्र ३५ हजार बढी विरुवा उत्पादन गर्ने उहाँको लक्ष्य छ । सुन्तलाको फलबाट पनि उहाँले बर्षमा ६/७ लाख आम्दानी गर्नुहुन्छ ।

त्यस्तै अर्का उदाहरण हुनुहुन्छ गोल्डेन कृषि तथा पशुपंक्षि फर्मका सञ्चालक निरज डिसी । उहाँ पनि १२ वर्षदेखि नर्सरी व्यवसायमै लाग्नु भएको छ । २० हजार कलमी र १० हजार विजु सुन्तलाका बिरुवासँगै कागती र टिमुरका पनि हजारौँ बिरुवा बेच्न सफल डिसीले यस वर्ष करिब २२ लाख रुपैयाँ आम्दानी गर्नुभयो । खर्च कटाएर बचत १७ लाख रुपैयाँ पुगेको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ ‘हामीसँग दिनहुँ सुन्तलाको माग आउँछ, हामीले दिनसक्ने अवस्था छैन्, विरुवा उत्पादन भन्दा धेरै माग छ, किसानहरु बिरुवा नपाएर फिर्ता जानुपरेको दिन पनि भोगेका छौं ।’ निरजले आउँदो वर्ष १ लाख सुन्तलाका बिरुवा उत्पादन गर्ने योजना बनाउनु भएको छ ।
सुन्तलाका बिरुवाको उत्पादन र विक्रीबाट आम्दानी हुन थालेपछि युवाहरू पनि कृषि व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । धेरै युवाहरू विदेश जानुको सट्टा गाउँमै रहेर नर्सरी व्यवसाय सञ्चालन गर्ने सोचमा छन् । प्रदिप र निरज जस्ता व्यवसायीहरूको एउटै साझा आवाज छ ‘प्राविधिक सहयोग, बजारीकरणमा सहजता, र सहज ऋण सुविधा उपलब्ध गरियोस् ।’ अहिले रोजगारीका लागि विदेश जाने सोच बनाएका युवाहरु पनि गाउँमै कृषिकर्ममा रमाउन थालेका छन् ।

किन बढ्दो छ माग ?
सुन्तला अब मात्र स्वाद र स्वास्थ्यको कुरा रहेन, यो अब व्यवसाय, आम्दानी र रोजगारीको विषय पनि बनेको छ । जलवायु अनुकूल क्षेत्रहरूमा सुन्तला खेती सजिलै सफल हुन्छ । कम लगानी तथा कम श्रम र लामो समयसम्म आम्दानी दिन सक्ने बोट भएकाले यसको माग दिनप्रतिदिन बढ्दैछ । सरकारले पनि व्यावसायिक फलफूल खेतीमा अनुदान दिन थालेको छ । अहिले किसान मात्रै होइन्, कृषि समुह तथा कृषि सहकारीले समुहमा आवद्ध सदस्यहरुलाई फलफूल खेतीमा प्रोत्साहन गरिरहेका छन् ।
विगतमा सुन्तलाका विरुवा धेरै उत्पादन भए, तर बजार पाएन् । धेरै किसानले विरुवा उत्पादन गर्नै छोडे । तर सरकारले सुन्तला खेतीमा प्रोत्साहन गरिरह्यो । यो बर्ष सुन्तलाका विरुवा विगत जसरी त्यति धेरै थिएन्, तर माग ह्वात्तै बढ्यो । पश्चिम नेपालममा सल्यानको सुन्तला रस र स्वाद दुबैमा अव्वल हुने भएकाले यहाँ उत्पादन भएको विरुवाको माग पनि उच्च भएको छ । सुन्तलाको विजु भन्दा कमली विरुवाको माग धेरै छ ।
दुई करोड बढीका विरुवा बिक्री
सल्यान जिल्लाका किसानले दुई करोडभन्दा बढी रुपैयाँ बराबरका विरुवा बिक्री गरेका छन् । कृषि विकास कार्यालय सल्यानका अनुसार असार मसान्तसम्ममा किसानले सुन्तला, कागती, ओखर र किविका गरी तीन लाख ९३ हजार विरुवा विक्री गरेका हुन् । जसमध्ये ५७ हजार ४५० विरुवा जिल्लामै खपत भएका छन् भने बाँकी ३ लाख २५ हजार ५५० विरुवा जिल्लाबाहिर निर्यात गरिएका छन् । यो तथ्यांक व्यावसायिक रूपमा नर्सरी सञ्चालन गरिरहेका करिब २५ जना किसानहरूसँगको विवरणमा आधारित छ । कार्यालयका सूचना अधिकारी इश्वरी नारायण घर्तीका अनुसार जिल्लामा सबैभन्दा धेरै माग सुन्तलाका विरुवाको रहेको छ ।
उक्त अवधिमा जिल्लाभित्र ३४ लाख ३५ हजार ३०० रुपैयाँका विरुवा बिक्री भए भने जिल्लाबाहिर १ करोड ९४ लाख ६६ हजार ७०० रुपैयाँ बराबरका विरुवा निर्यात भएका छन् । यसमध्ये करिब २ लाख बढी विरुवा सुन्तलाका रहेका छन् । अहिले कृषि विकास कार्यालय र स्थानीय तहहरुले पनि नर्सरी व्यावसायलाई प्राथमिकता दिदै आएका छन् । ‘प्लाष्टिक टनेल निर्माण, सिँचाई पोखरी निर्माण लगाएतका सहयोग गरेका छौँ’ घर्तीले भन्नुभयो ।
उत्पादनभन्दा माग बढी हुदाँ कम गुणस्तरीय बिरुवा पनि बेच्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सजक रहन आग्रह गरिएको उहाँको भनाइ छ ।
सुन्तलाको विरुवा मात्र होइन, यहाँको सुन्तलाको दानाबाट समेत किसानले राम्रो आम्दानी गरिरहेका छन् । हाल जिल्लाको ९८० हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष मात्रै सल्यानमा ८ हजार ६ सय मेट्रिक टन सुन्तला बिक्री भएर ३५ करोड ५५ लाख रुपैयाँ आम्दानी भएको छ ।