श्रमदानः आवश्यकता कि बाध्यता ?

‘लुहाम–काभ्रा सडकको अवस्था बिग्रिँदा सरकारबाट तत्काल सहयोग नआएकाले स्थानीय नै अघि सरेर मर्मत गर्नु बाध्यता पनि थियो’ उहाँ भन्नुहुन्छ ‘तर एकैपटक राज्यले सबै काम गर्न सक्दैन, अब आफैं पनि केही गर्नुपर्छ भन्ने सोचले हामी जुुटेका हौं, यसमा थुप्रै मानिसहरू स्वतःस्फूर्त सहभागी भएका छन् ।’


सल्यान, ८ भदौ ।
शान्तिसुरक्षामा मात्रै केन्द्रित हुने जिल्ला प्रहरी कार्यालय सल्यानले नेतृत्व गर्दै जिल्लाबाट प्रदेश राजधानी सुर्खेत जोड्ने सडकखण्डको बाबियाचौर खण्ड मर्मतसम्भार ग¥यो । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा कोदालो, बेल्चा र साबेल समातेर खटिएको प्रहरीले सडकको खाल्डाखुल्डी पुर्ने, नाला खन्ने तथा सडक मर्मतसम्भार गर्ने काम गरे । त्यसको केही दिनपछि त्रिवेणी गाउँपालिका वडा नं. ४ र ५ को बीचमा पर्ने बुच्चेपाटी गाउँ वारपार हुने स्थान लुहाम खोलामा ४० फिट लामो काठे पुल निर्माण गरियो । लुहाम–काभ्रा–कालिमाटी सडक, कुमाखको स्यानीपिप्ली सडक लगाएतका विभिन्न स्थानमा प्रहरीकै नेतृत्वमा सडक मर्मतसम्भारका काम भए ।

जिल्लामा फैलिदैँ गएका कालो बनमारा, काँडे बनमारा, वन सुर्यमुखी जगाएतका मिचाहा वनस्पती नियन्त्रण अभियान सदरमुकाम खलंगाबाट सुरु भयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको नेतृत्वमा डिभिजन वन कार्यालय सल्यान र वनस्पती अनुसन्धान केन्द्र सल्यानको सहजीकरणमा प्रत्येक हप्ताको शुक्रबार सरसफाई अभियान अन्र्तगत विहान एक घण्टा मिचाहा वनस्पती हटाउने कार्य चलिरहेको छ । तेस्रो हप्तासम्म आइपुग्दा निशुल्क श्रमदान गर्दै सदरमुकाम खलंगाको प्रशासन, अदालत, कारागार, टेलिकम, जिल्ला समन्वय, खानेपानी, बिद्युत लगाएतका कार्यालय आसपासमा मिचाहा वनस्पती हटाउने कार्य अनवरत रुपमा अघि बढेको छ ।

कपुरकोट गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम र वजेटमै श्रमदानबाट सार्वजनिक संरचना निर्माण गर्ने अभियानको थालनी गरेको छ । कपुरकोट गाउँपालिका–५ सल्लाममा ३ बर्षअघि पहिरो गएको क्षेत्रमा बृक्षारोपण गरेर श्रमदान बर्षको सुरुवात गरेको छ । हिजोआज जिल्लाका राजनितिक दल, संघसंगठन, समुह तथा युवाहरु श्रमदानमा जोडिएका छन् । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानी कटान तथा नाली बनाउने, घोरेटो बाटो मर्मत गर्ने, खानेपानीका मुहान सरसफाई गर्ने, बृक्षारोपण गर्ने जस्ता सामाजिक कार्यमा श्रमदान गर्नेको संख्या बढ्न थालेको छ ।

त्रिबेणीका युवा शुकलाल खड्का आफु श्रमदानमा जोडिएको बताउनुहुन्छ । ‘लुहाम–काभ्रा सडकको अवस्था बिग्रिँदा सरकारबाट तत्काल सहयोग नआएकाले स्थानीय नै अघि सरेर मर्मत गर्नु बाध्यता पनि थियो’ उहाँ भन्नुहुन्छ ‘तर एकैपटक राज्यले सबै काम गर्न सक्दैन, अब आफैं पनि केही गर्नुपर्छ भन्ने सोचले हामी जुुटेका हौं, यसमा थुप्रै मानिसहरू स्वतःस्फूर्त सहभागी भएका छन् ।’

दशक अघिसम्म सल्यानमा श्रमदान (झारा) एक सामान्य सामाजिक अभ्यास थियो । गाउँघरका सार्वजनिक संरचना निर्माणदेखि बस्ती सरसफाइसम्मको काम सामूहिक श्रमबाटै सम्पन्न गरिन्थ्यो । तर, समयक्रममा यो अभ्यास विस्तारै हराउँदै गयो । श्रमदान हराउन थालेको प्रमुख कारण सामाजिक संरचनामा आएको परिवर्तन हो । पहिलेका आत्मनिर्भर समुदायहरु क्रमशः सरकारी सेवामा निर्भर हुन थाले । विकास निर्माण तथा मर्मतसम्भारका लागि राज्यबाट बजेट आउने भएपछि समुदायको सहभागिता घट्न थाल्यो । सरकारले सबै काम गर्ने हो भन्ने मानसिकता फैलिंदै जाँदा स्थानीयको सहभागिता न्यून बन्दै गयो ।

त्यस्तै वैदेशिक रोजगारी र युवा पलायनले गर्दा गाउँमा काम गर्ने जनशक्ति नै अभाव हुन थाल्यो । बाँच्नकै लागि देश छाडेका युवाहरूको अनुपस्थितिले श्रमदान गर्ने चलनमा ठूलो धक्का पुग्यो । अर्कोतर्फ स्थानीय तहमा योजनाहरुको ठेक्कापट्टा प्रणाली हावी हुँदै गएपछि जनसहभागिताको आवश्यकता देखिन छोड्यो । सामाजिक एकता र साझा हितमा काम गर्ने भावना पनि पहिलाजस्तो बलियो रहेन । व्यक्तिगत व्यस्तता, जीवनशैलीको परिवर्तन र सामुदायिक भावना कमजोर हुँदै जानु पनि श्रमदान हराउनुका कारण हुन् ।

तर अहिले पुनः श्रमदानको अभ्यास फर्किन थालेको छ । यसले समुदायमा स्वामित्व र सहभागिताको भावना बलियो बनाएको छ ।

विकासका हरेक काम गर्न वजेट चाहिदैन्

सबै विकासका काम पैसाले मात्र हुने होइनन् । कतिपय काम समुदायको श्रम, सहभागिता र इच्छाशक्तिले पनि सम्भव हुन्छ । सल्यानमा श्रमदानमार्फत सडक मर्मत, सरसफाइ र वन संरक्षणजस्ता कार्यले देखाएको छ, जनसहभागिताले बजेट बिना पनि परिवर्तन सम्भव छ । प्रमुख जिल्ला अधिकारी सुवेदी भन्नुहुन्छ ‘श्रमदान केवल काम गर्ने प्रक्रिया होइन, यो सामाजिक उत्तरदायित्व र नागरिक सहभागिताको उत्कृष्ट उदाहरण हो, मिचाहा वनस्पति नियन्त्रणदेखि सडक मर्मतसम्मका गतिविधिले राज्य र जनताको सहकार्य सम्भव छ भन्ने प्रमाणित गरेको छ ।’

‘प्रहरी जनताको सेवामा हो भन्ने भावनाबाट अघि बढ्दै हामी श्रमदानमा उत्रिएका हौँ, यसले समुदायसँगको सम्बन्ध बलियो बनाएको छ, साथसाथै उदाहरणीय कामको सुरुवात पनि भएको छ’ प्रहरी प्रमुख केसी भन्नुहुन्छ ‘हामीले थालनी गरेका छौँ, श्रमदान गर्ने काम निरन्तर अघि बढ्छ ।’ कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन भन्नुहुन्छ ‘गाउँपालिका स्तरमै हामीले श्रमदानलाई प्राथमिकता दिएका छौँ, बजेटभन्दा ठूलो कुरा जनताको आत्मियतासँग जोडिएको योगदान हो, श्रमदानमार्फत सामूहिक प्रयासको मूल्य फेरी चिनाउन थालेका छौँ ।’

पछिल्लो समय सल्यानमा पुनः श्रमदानको संस्कार फर्किनु सुखद संकेत भएको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत बताउनुहुन्छ । ‘यो निकै सकारात्मक परिवर्तन हो, पहिले हाम्रो समाजमा झारा प्रणालीमार्फत धेरै काम हुन्थे, जुन सामाजिक एकताको आधार थियो, तर समयक्रममा त्यो हराउँदै गयो, अहिले पुनः श्रमदानको संस्कृति फर्किन थालेको छ, जुन केवल शारीरिक श्रम होइन, सामूहिक चेतना र नागरिक जिम्मेवारीको अभ्यास हो, सञ्चारमाध्यमको तर्फबाट हामी यस्ता अभियानलाई उजागर गर्ने, उत्साहित बनाउने र सशक्त बनाउने काममा सदैव साथ छौँ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस