वनलाई आत्मनिर्भर बनाउँदै खोटो : ४ करोड आम्दानी – पन्ध्र सय बढीलाई रोजगारी

‘निर्देशिकामा वनले गरेका आम्दानी कहाँ–कहाँ खर्च गर्ने भनेर प्रस्ट रुपमा लेखेकै हुन्छ, सोही अनुसार खर्च हुने हो, हेर्दा वनले गरेको काम बाहिर नदेखिएला तर वन व्यवस्थान, बृक्षारोपण, झाडी कटान, अग्नि रेखा निर्माण, रिचार्ज पोखरी निर्माण, वन हेरालु लगाएतमा खर्च भएको हुन्छ, बाँकी रकम पनि समुदायमै परिचालन भएको हुन्छ, कतै ग्याँस चुलो वितरण, कतै घुम्ती कोष निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा खर्च भएको पाइन्छ, जहाँ खर्च भएपनि समुदायकै लागि हुन्छ’ उहाँले भन्नुभयो ।

सल्यान, ७ असोज ।

सल्यानका वन समुहले एकै बर्षमा चार करोड रुपैँया बढी आम्दानी गरेका छन् । जिल्लामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा सञ्चालन भइरहेको खोटो संकलन कार्यबाट जिल्लाका वन समुहले गएको आर्थिक बर्ष २०८१/०८२ मा ४ करोड २२ लाख १९ हजार ४४० रुपैयाँ आम्दानी गरेका हुन् । यसले वन समुहलाई आत्मनिर्भर बनाउनुका साथै सामाजिक विकासका कार्यमा अग्रसर बन्न प्रेरणा प्रदान गरेको छ ।

जिल्ला रहेका सल्लाहरुबाट बर्षेनी २७ हजार मेट्रिक टन खोटो निकाल्न सकिने सरकारी तथ्यांक भएपनि जिल्लाका वन समुहबाट गतबर्ष ३५ लाख १८ हजार २८७ किलो खोटो संकलन भई निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । जिल्लाको कूल वन क्षेत्रमध्ये करिब ६५ प्रतिशत भन्दा बढीमा सल्ला रहेका छन् भने हाल ४ सय २० बढी वन समुहबाट खोटो संकलन भैरहेको छ । विगतका बर्षको तुलनामा जिल्लामा बर्षेनी खोटो संकलन बढ्दै गएको छ ।

अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा जिल्लाभरबाट २५ लाख ४२ हजार ६८० किलो खोटो निकासी हुदा २ करोड २६ लाख ९३ हजार ४८० रुपैँया समुहमा आम्दानी भएको कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो । पछिल्लो समय खोटो वनसमुहको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको र यसले समुहमा आवद्ध उपभोक्ताहरुको जीवनस्तरमा सुधार ल्याउन मद्धत गरेको उहाँले बताउनुभयो ।

‘खोटो संकलनले वन समूहलाई आत्मनिर्भर बनाएको छ, यसले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने काम गरेको छ, समुहले आम्दानीको २५ प्रतिशत रकम अनिवार्य वन संरक्षण तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ’ उहाँले भन्नुभयो ‘समुदायकै सामाजिक विकास, बिद्यालय, सडक, खानेपानी, गरिवी न्यूनिकरण जस्ता कार्यमा रकम खर्च भएको छ, वन व्यवस्थापन, बृक्षारोपण, वन गोडमेलमा खर्च भएको छ, अधिकांश वनले वन हेरालुमा खर्च गरेका छन् ।’

जिल्लाभर पन्ध्र सय बढीलाई प्रत्यक्ष रोजगारी

खोटो संकलन भैरहेका जिल्लाका वन समुहमा पन्ध्र सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । जंगलमा जाने, खोटो संकलन गर्ने कार्यमा संलग्नले एकै सिजनमा एक लाख देखी तीन लाख रुपैँया सम्म आम्दानी पनि गरेका छन् । २०४५/०४६ सालतीर भारतबाट खोटोसंकलनकर्ता ल्याएर संकलन गरिएको भएपनि त्यसपछिका दशकमा जिल्लाकै नागरिकले रोजगारी पाएका थिए । तर अहिले रोल्पा, प्युठान, पाल्पा लगाएतका जिल्लाका नागरिकले खोटो संकलन गर्ने गरेका छन् ।

खोटो संकलनमा संलग्नमध्ये करिब ७० प्रतिशत संकलनकर्ता जिल्ला बाहिरका रहेको गंगा रोजिनका मेनेजर देव बहादुर वोहराले जानकारी दिनुभयो । आफ्नो कम्पनीले हाल ४० वटा वनबाट खोटो संकलन गर्दै आएको र दुई सय बढीले प्रत्यक्ष रोजगारी पाएको उहाँको भनाइ छ । ‘पुरानो पुस्ताले खोटो संकलन गर्न नसक्ने र युवापुस्ता विदेश पलायन हुनु तथा गाउँघरमै भएकाले पनि यस कार्यमा संलग्न हुन अस्वीकार गर्दा जिल्ला बाहिरका नागरिले रोजगारी पाएका छन्’ उहाँले भन्नुभयो ।

एक बाकसमा सरदर साढेँ १७ केजी खोटो अट्छ । एक संकलनकर्ताले चैत देखी असोजसम्म न्युनतम २२५ बाकस खोटो संकलन गर्छ । यसबाट ५/६ महिनाको अवधिमा एक खोटो संकलनकर्ताले एक लाख देखी तीन लाखसम्म आम्दानी गर्छ । जिल्लाभरमा ७ वटा कम्पनी मार्फत खोटो संकलनको काम भैरहेको छ । यसमा संकलनकर्ता सँगै सुपरभाइजर, व्यवस्थापक, बाकस तथा खोटो दुवानीकर्ता लगाएतले समेत रोजगारी पाएका छन् ।

समुहको आम्दानी, समुहमै खर्च

जिल्लामा रहेका वन समुहले समुहको आम्दानी समुहमै खर्च भैरहेको बताउँछन् । कुल आम्दानीको कम्तिमा २५ प्रतिशत रकम वन व्यवस्थापन, बाँकी ७५ प्रतिशतलाई सय प्रतिशत मानेर ५० प्रतिशत गरिवी निवारण तथा आयआर्जन र बाँकी ५० प्रतिशत सामुदायिक विकासमा खर्च गर्ने गरेका बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले समुहले गरेको आम्दानी समुहकै हितमा खर्च भएको बताउनुभएको छ ।

‘निर्देशिकामा वनले गरेका आम्दानी कहाँ–कहाँ खर्च गर्ने भनेर प्रस्ट रुपमा लेखेकै हुन्छ, सोही अनुसार खर्च हुने हो, हेर्दा वनले गरेको काम बाहिर नदेखिएला तर वन व्यवस्थान, बृक्षारोपण, झाडी कटान, अग्नि रेखा निर्माण, रिचार्ज पोखरी निर्माण, वन हेरालु लगाएतमा खर्च भएको हुन्छ, बाँकी रकम पनि समुदायमै परिचालन भएको हुन्छ, कतै ग्याँस चुलो वितरण, कतै घुम्ती कोष निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा खर्च भएको पाइन्छ, जहाँ खर्च भएपनि समुदायकै लागि हुन्छ’ उहाँले भन्नुभयो ।

वन समुहको आम्दानीबाट गाउँको विकासमा लगानी गर्दै आएको उहाँको भनाइ छ । जिल्लामा संकलन भैरहेको खोटो नेपालगन्जमा निकासी भएपनि खोटोको प्रमुख बजार भारत रहेको पाइएको छ । त्यहाँ यसको प्रयोग तार्पिन तेल, रोजिन आदिमा गरिन्छ । संकलनकर्ताले खोटोको केजीका हिसावले प्रत्यक्षरूपमा कमाएपनि बजारमा यसको मूल्य अझ बढी रहेको जानकारहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस