
सल्यान, १२ मंसिर ।
सल्यानको शारदा नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्धेश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानर लगायतका सामग्री हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट घर, बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको हो । नगरपालिकाले नगरका १५ वटै वडामा पुगेर अव्यवस्थित होर्डिङ बोर्ड हटाउने जनाएको छ ।
प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगर प्रहरीको सहयोगमा हटाइएको छ । दुई दिनमा श्रीनगर बजारका ४५ वटा भन्दा बढी पसलका बोर्ड हटाइएको नगरपालिकाले जनाएको छ । पछिल्लो पटक गत भदौँ १० गते नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक तथा निजी घरका छत तथा जमिनमा रहेका सबै होर्डिङ वोर्डहरु सम्वन्धीत विज्ञापनकर्ता, व्यक्ति तथा निकायले सात दिन भित्र हटाउनुहुन अनुरोध गरेको थियो । यसअघि पनि पटक पटक सूचना जारी भएका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विज्ञापन नियमित ऐन, २०७६ को दफा ४ अनुसार नगर क्षेत्रमा प्रचार गर्न मिल्ने विज्ञापनका लागि नगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमति बिना राखिएका प्रचार सामग्री शहरी सुन्दरता तथा व्यवस्थापन दुवैका लागि चुनौती बनेको भन्दै नगरपालिका कडा रुपमा उत्रेको हो । त्यसमध्ये ११ जना व्यावसायिले नगरपालिकाले तोकेको मापदण्ड अनुसारकै विज्ञापन वोर्ड राख्न तयार भएका छन् ।
नगर प्रवक्ता राजेश कुमार शर्माका अनुसार, सूचनाको अवहेलना गर्दै जथाभावी राखिएका सबै होर्डिङ बोर्ड हटाउने कार्यलाई नगरपालिकाले कडाइका साथ अघि बढाइरहेको छ । ‘नगरलाई व्यवस्थित, स्वच्छ र सौन्दर्यमय बनाउने हाम्रो दीर्घकालीन योजनाअन्तर्गत यो अभियान सुरु गरिएको हो, अनुमति नलिएर राखिएका सामग्रीहरूले शहरको सौन्दर्य मात्र बिगार्दैन, सडक क्षेत्रमा दृश्य अवरोध समेत सिर्जना गर्छन्, नगर प्रहरीले दुई दिनयता तीव्र गतिमा अनधिकृत बोर्ड हटाइरहेको छ र आवश्यक परे थप कडा कदम पनि चालिनेछ’ उहाँले भन्नुभयो ‘विज्ञापन गर्न चाहने कसैलाई रोकिएको छैन, तर सबैले ऐनमा तोकिएको प्रक्रिया र मापदण्ड पालना गर्न अनिवार्य छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरपालिकाको यो कदम पूर्ण रूपमा कानुनी आधार र शहरी व्यवस्थापनका लक्ष्यअनुसार अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नगरपालिकाको विकासका प्रत्येक चरणमा शहरी अनुशासन अत्यन्तै महत्वपूर्ण हुन्छ, अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड र विज्ञापन सामग्रीले न शहरको पहिचान कायम रहन्छ न त नागरिकलाई स्वच्छ र व्यवस्थित वातावरण मिल्छ, त्यसैले नियमविपरीत रहेका सबै सामग्री हटाउने निर्णय कडाइका साथ कार्यान्वयन भइरहेको छ ।’
उहाँले आफ्नै पसल वा घर वा कार्यालय अगाडी बिज्ञापन सामाग्री राख्न पाइने बताउनुभयो । ‘पसल वा कार्यालय जुनसुकैले पनि नाम, ठेगाना, सम्पर्क नम्बर, पाइने सेवाहरुका बारेमा लेखिएको होर्डिङ बोर्ड राख्न पाइन्छ, तर त्यो भन्दा बाहिर राख्दा नगरपालिकासँग समन्वय र सहकार्य गर्नुपर्छ, यसको अनुमति नगरपालिकाले नै दिन्छ, राजस्व पनि पालिकामै संकलन हुन्छ’ उहाँले थप्नुभयो ‘निश्चित समय र निश्चित स्थान तोकेर होर्डिङ बोर्ड राख्न सकिन्छ, अन्यथा नगरपालिकाले कारवाही अघि बढाउँछ ।’