
सल्यान, २ पुस ।
सल्यान प्रहरीले एकैपटक ठुलो परिमाणमा अबैध हतियार नियन्त्रणमा लिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानबाट एकैपटक ३३ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक देवराज भट्टराईले जिल्लाभर सञ्चालन गरिएको गोप्य तथा लक्षित अपरेसनमार्फत ती हतियारहरू नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १०, ११ र १२ का विभिन्न स्थानबाट १५ थान, त्रिवेणी गाउँपालिकाबाट १० थान तथा अन्य पालिकाबाट ८ थान गरी कुल ३३ थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
प्रहरीका अनुसार ती हतियारहरू स्थानीयले घरभित्र, गोठ, घाँसको थुप्रो, ओढार तथा विभिन्न गोप्य स्थानमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेका हुन् । प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी ती हतियारहरू नियन्त्रणमा लिइएको उहाँको भनाइ छ । ‘अवैध हतियार राख्नु कानुन विपरीत मात्र नभई सामाजिक सुरक्षाका लागि पनि खतरा हो’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो ‘प्रहरीले एक जनालाई पक्राउ गरेर कारवाही गरेको छ, यस्ता हतियार लुकाएर राख्ने, प्रयोग गर्ने वा कारोबार गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिन्छ ।’
जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर निगरानी बढाइएको उल्लेख गर्नुभयो । उहाँले अवैध हतियार निर्वाचन सुरक्षाका लागि गम्भीर चुनौती बन्न सक्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी र कारबाहीलाई निरन्तरता दिइने स्पष्ट पार्नुभयो । प्रहरीले स्थानीय बासिन्दालाई अवैध हतियार, आपराधिक गतिविधि वा शंकास्पद गतिविधिबारे जानकारी भए तुरुन्त प्रहरीलाई सूचित गर्न आग्रह गरेको छ ।
‘यो प्रहरीको नियमित कार्य हो, अनुसन्धानका क्रममा अवैध हतियार भेटिएका हुन्, हामीले यो अभियानलाई अझ तिव्रता दिएका छौँ, नियन्त्रणमा लिएका केही हतियार प्रयोगमा रहेको पाइन्छ भने केही प्रयोग विहीन अवस्थामा रहेको पाइन्छ, बारुद, गोली जस्ता सामाग्री भेटिएका छैनन्’ उहाँले भन्नुभयो ‘स्थानीयले दिएको गोप्य सूचनाकै आधारमा हतियार नियन्त्रणमा लिदै आएका छौँ ।’ जिल्लाबाट नियन्त्रणमा लिएका सबै हतियार प्रदेश कार्यालय सुर्खेत पठाउने तयारी गरिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका भरुवा बन्दुक जंगली जनावरको सिकार गर्न प्रयोग गर्दै आएको पाइएको छ । विशेषगरी बँदेल, घोरल, रतुवा, कालिज लगायतका वन्यजन्तुको सिकार गर्न यस्ता बन्दुक प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । अवैध हतियार प्रयोग कानुन विपरित हुनु र यस प्रकारको सिकार कार्य पनि कानुन विपरीत हुनुका साथै जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलनका दृष्टिले समेत गम्भीर अपराध मानिन्छ ।
अवैध हतियारको प्रयोगले वन्यजन्तु नष्ट हुनुका साथै दुर्घटना, हिंसा र सामाजिक अशान्ति बढ्ने जोखिम पनि रहने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले कडाइका साथ निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको जनाएको छ । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको प्रहरीले जनाएको छ । भरुवा बन्दुक प्रयोग गर्न नमिल्ने पुराना घर, ओढार र जंगलमा लुकाइराखेको अवस्था फेला परेकाले कसको हो भन्ने खुलेको छैन् ।