
सल्यान, २० पुस ।
सल्यानमा दोस्रो प्रादेशिक महोत्सव हुने भएको छ । सल्यान उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २५ गते देखी माघ ११ गते सम्म जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव हुने भएको हो । संघले आइतबार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी सुरु भएको जानकारी दिएको छ । महोत्सव संयोजक राजेन्द्रकुमार थापाका अनुसार महोत्सवबाट करिब १२ लाख ८५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
आयोजकले यस महोत्सवबाट ७७ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । जसअन्तर्गत टिकट बिक्रीबाट ४० लाख, स्टल बिक्रीबाट १५ लाख, मुख्यप्रायोजक, प्रायोजक तथा सहप्रायोजक सहित विभिन्न निकायबाट १० लाख, बाल उद्यानबाट १० लाख र विविध शीर्षकबाट २ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । त्यसैगरी खर्चतर्फ कलाकार पारिश्रमिकमा १५ लाख, स्टल निर्माणमा १० लाख, साउण्ड सिस्टममा ५ लाख, प्रचार–प्रसारमा ३ लाख, छपाइमा १ लाख तथा खानेपानी, सरसफाइ, यातायात, सञ्चार, विद्युत, कर, कृषि प्रदर्शनी र झाँकीलगायतमा गरी कुल ६४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
महोत्सव संयोजक थापाले प्रादेशिक महोत्सव मनोरञ्जनमा मात्र सीमित नरही जिल्लाको कृषि, वन, पशुपालन, पर्यटन, उद्योग र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । ‘स्थानीय कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य सामग्रीको प्रदर्शनी र बजारीकरण, वन स्रोतमा आधारित घरेलु तथा साना उद्योगको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन तथा उपभोक्तासम्म पहुँच विस्तार गर्ने लक्ष्य महोत्सवको मुख्य आधार हो’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार महोत्सवमा कृषिसम्बन्धी प्रदर्शनी, आधुनिक प्रविधि र उपकरणको जानकारी, वन पैदावारमा आधारित उत्पादनको अवलोकन तथा स्थानीय उद्यमीले तयार पारेका वस्तुको बिक्री वितरण गरिनेछ । यसैगरी सल्यान जिल्लाका पर्यटकीय गन्तव्य, संस्कृति र परम्पराको प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । ‘महोत्सवले स्थानीय उद्योग र व्यापारलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने तथा जिल्लाको आर्थिक गतिविधि बढाउने माध्यमको रूपमा काम गर्नेछ’ उहाँले भन्नुभयो ।
महोत्सवको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गर्नुहुने कार्यक्रम रहेको छ । सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै आयोजकले सिआइडीसहितको सुरक्षा संयन्त्र परिचालन गर्नुका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरिएको जनाएको छ । महोत्सव स्थलमा साउण्डसहितको सिसी क्यामरा जडान गरिनुका साथै ५ करोड रुपैयाँभन्दा बढीको सामूहिक बीमा गरिएको छ । साथै, दर्शकलाई चोटपटक लागेमा वा अन्य आकस्मिक घटना भएमा क्षतिपूर्तिका लागि बीमा व्यवस्था गरिएको छ ।
महोत्सवमा जिल्लाका सबै १० वटै स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारसँगै स्थानीय तथा पालिकास्तरका कलाकारहरूको समेत प्रस्तुति रहनेछ । महोत्सवमा १३० वटा स्टल रहनेछन् भने कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । बालउद्यान अन्तर्गत पिङ, डुंगा, रेललगायत मनोरञ्जनात्मक खेलकुद समावेश गरिनेछ । साथै पालिकास्तरको लोकदोहोरी तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिनेछ ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव मोहन सारुले गर्नुभएको थियो । महोत्सवका आर्थिक संयोजक राजेन्द्र भण्डारीले महोत्सवलाई आर्थिक रूपमा पारदर्शी, आत्मनिर्भर र बचतमूलक बनाउँदै स्थानीय उत्पादन, व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने लक्ष्यका साथ बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।
महोत्सव प्रवेशका लागि परिचयपत्रका आधारमा विद्यार्थीलाई ३० प्रतिशत र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ । महोत्सवको प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ ।