
सल्यान, ८ माघ ।
दाङ–सल्यान जोड्ने प्रमुख सडक खण्ड राप्ती लोकमार्ग अन्तर्गत हर्नेटी–कपुरकोट सडक खण्ड बन्द हुने भएको छ । सडक डिभिजन दाङले सडक स्तरोन्नति कार्यका कारण माघ ८ गते विहीबार देखि माघ २५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको हो । गत जेठमा गरिएको सम्झौता अनुसार ४४ करोड बढी लागतमा पिके निर्माण सेवाले सडक स्तरोन्नतीको काम गरिरहेको छ । सडकको माथिल्लो भाग कटान गर्नुपर्ने भएकाले करिब दुई साताका लागि सडक बन्द गरेर काम गरिने छ ।
सडक स्तरोन्नतीको काम गर्दा सवारी आवतजावतमा समस्या हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक बन्द गरेर काम गरिने सडक डिभिजनका सूचना अधिकारी अशोक चौधरीले जानकारी दिनुभयो । ‘यो बेला राप्ती लोकमार्गको हर्नेटी–कपुरकोट खण्डको स्तरोन्नति गरिदैँ छ, काम धमाधम भैरहेको छ, कामको बेला सवारी आवतजावत हुने र दुर्घटना हुनसक्ने हुन्छ, सवारीसाधन पनि लामो समयसम्म रोकिन सक्छन्, त्यसैले पुर्ण रुपमा नै सडक बन्द गरेर काम गरिने छ’ उहाँले भन्नुभयो ।
लोकमार्ग बन्द हुदा दैनिक यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, कर्मचारी, व्यापारी तथा बिरामी बोकेर यात्रा गर्ने नागरिकहरू थप समस्यामा पर्ने देखिएको छ । विशेषगरी राप्ती लोकमार्ग सल्यान, रुकुम पश्चिम र रोल्पा जोडिने मुख्य मार्ग भएकाले यसको असर व्यापक हुने स्थानीयवासीको गुनासो छ । यसअघि पनि पटक–पटक यही सडकका विभिन्न खण्ड बन्द हुँदा यात्रुहरूले घण्टौँ सास्ती पाएको तीतो अनुभव छ । एम्बुलेन्स, सुत्केरी, वृद्धवृद्धाले समेत सास्ती खेप्नुपरेको भन्दै स्थानीयले गुणासो गरेका छन् ।
समयमै काम सम्पन्न नभए बन्दको अवधि थपिन सक्ने आशंकाले यात्रुहरू झन् चिन्तित छन् । स्थानीयवासीले वैकल्पिक मार्गको अवस्था पनि दयनीय रहेकाले त्यहाँसमेत मर्मत आवश्यक रहेको माग गरेका छन् । राप्ती लोकमार्ग सल्यानको जीवनरेखा मानिन्छ । त्यसैले विकासको नाममा नागरिकलाई पटक–पटक दुःख दिने परिपाटी अन्त्य हुनुपर्ने आवाज बलियो बन्दै गएको छ । स्थानीय सरकार, सडक डिभिजन र निर्माण कम्पनीबीच समन्वय गरी छिटो, सुरक्षित र प्रभावकारी रूपमा काम सम्पन्न गर्न नागरिकको माग छ ।
सडक डिभिजन दाङले भने निर्माण कार्यलाई छिटो र गुणस्तरीय बनाउन यस्तो निर्णय लिनुपरेको जनाएको छ । कार्यालयका अनुसार साना तथा अत्यावश्यक सवारी साधनका लागि पैयाखोरिया–सातावास–किमुचौर हुदैँ कपुरकोट सडक वा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरिएको छ ।
राप्ती लोकमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको पैयाखोरिया–सातावास–किमुचौर हुदैँ कपुरकोट जोड्ने सडक भने स्थानीयका लागि त्रासको मार्ग बनेको छ । सडक स्तरोन्नतिका क्रममा माथिल्लो सडकबाट ढुंगा खसिरहँदा आफूहरू दिनहुँ ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएको स्थानीय बासिन्दाको गुनासो छ । साताबासका स्थानीय र यस सडक भएर आवतजावत गर्नेहरुका अनुसार माथिल्लो सडकमा ठुला मेसिन प्रयोग गरी काम भइरहँदा तलको सडकमा कुनै सुरक्षा व्यवस्था नगरी सवारी सञ्चालन गरिँदा जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने अवस्था छ ।