
सल्यान, ९ माघ ।
एकसाताको अवधिमा तीन जनाको ज्यान लिएको नरभक्षी बाघ अझै पत्ता लाग्न सकेको छैन । बाघलाई खोजी गरी नियन्त्रणमा लिने वा आवश्यक परे मार्ने उद्देश्यसहित बाँके राष्ट्रिय निकुञ्जको टोली परिचालित भए पनि अहिलेसम्म बाघ भेटिन नसक्दा निकुञ्जसँग जोडिएका सल्यान र सुर्खेतका स्थानीयवासी त्रसित बनेका छन् । पछिल्लो एक सातादेखि बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सल्यान र सुर्खेतका विभिन्न क्षेत्रमा बाघको खोजी कार्य भइरहेको छ ।
तर बाघको स्पष्ट लोकेसन पत्ता नलाग्दा खोजी अभियान प्रभावकारी हुन सकेको छैन् । बाघ अझै खुला रूपमा घुमिरहेकाले जुनसुकै बेला थप मानवीय क्षति हुन सक्ने भय स्थानीयमा बढेको छ । नरभक्षी बाघ नियन्त्रणमा लिन निकुञ्ज पक्ष असफल देखिएको भन्दै आक्रोशित स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बिहीबार कोहलपुर–सुर्खेत सडकखण्डअन्तर्गत बबई पुल क्षेत्रमा स्थानीयले प्रदर्शन गर्दै करिब तीन घण्टा सवारी आवागमन अवरुद्ध पारेका थिए ।
‘बाघ पाल्न पाइँदैन’, ‘मध्यवर्ती क्षेत्र चाहिँदैन’, ‘हाम्रो ज्यानको सुरक्षा गर’ जस्ता नारा लगाउँदै उनीहरूले दबाबमूलक आन्दोलन सुरु गरेका हुन् । आन्दोलनलाई थप सशक्त बनाउँदै नियमित कार्यक्रमसहित अघि बढाइने स्थानीयको भनाइ छ । सल्यानको कालीमाटी गाउँपालिका–५ र ७ तथा सुर्खेतको भेरीगंगा नगरपालिका–५ का स्थानीयले संयुक्त रूपमा आन्दोलन थालेका हुन् । मान्छे खाने बाघको कारण निरन्तर मानवीय क्षति भइरहेको अवस्थामा पनि निकुञ्ज र सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनीहरुको आरोप छ । कालीमाटी गाउँपालिका–७ मा निकुञ्जबाट आउने वन्यजन्तुको कारण बर्सेनि जोखिम बढ्दै गएपछि स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । संघर्ष समितिले भरत पुनको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
वडाअध्यक्ष मित्रलाल रिजालका अनुसार जोखिममा रहेका बस्तीको दीर्घकालीन समाधानका लागि बस्ती स्थानान्तरण नै मुख्य माग रहेको छ । कालीमाटी गाउँपालिका–७ भित्रका करिब ५५० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । ‘यदि तत्काल बस्ती स्थानान्तरण सम्भव हुँदैन भने बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको मध्यवर्ती क्षेत्र स्थानीय तहको मातहतमा दिनुपर्छ’ उहाँले भन्नुभयो । संघर्ष समितिका अनुसार हाल रहेको करिब ३०० वर्ग मिटर क्षेत्रफलको हात्तीदमार–घुइयाबारी मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने वा सो क्षेत्रको सम्पूर्ण व्यवस्थापन र जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ ।
मध्यवर्ती क्षेत्रको व्यवस्थापन स्थानीय सरकारबाट भएमा नागरिक सुरक्षा र क्षति न्यूनीकरणमा प्रभावकारी हुने स्थानीयको विश्वास छ । स्थानीय अमर पुनले बाघका कारण गाउँ नै बस्न अयोग्य बन्दै गएकोले बस्ती स्थानान्तरणबाहेक अर्को विकल्प नरहेको बताउनुभयो । ‘हाम्रो गाउँमा एकपछि अर्को मान्छे मारिँदा पनि राज्यले केही गरेजस्तो देखिँदैन, बाघ नियन्त्रणको नाममा बैठक र अनुगमन मात्रै हुन्छ, तर नागरिक सुरक्षित हुने कुनै काम भएको छैन, हामी हरेक दिन बाँच्ने कि मर्ने भन्ने डरमा बाँचिरहेका छौँ’ उहाँले थप्नुभयो ‘बच्चा स्कुल पठाउन डर लाग्छ, खेतबारी जान सकिँदैन, दाउरा–घाँस गर्न ज्यान दाउमा राख्नुपर्छ ।’
गत पुस २३ गते भेरीगंगा नगरपालिका–५ गेरुवानीकी ५७ वर्षीया गंगादेवी सारु मगर, पुस २५ गते कालीमाटी गाउँपालिका–७ की ४२ वर्षीया धनसरी रावत र पुस २९ गते वडा नम्बर–६ हात्तिढुंगाका ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो । लगातार तीन घटनापछि यस क्षेत्र नरभक्षी बाघको उच्च जोखिममा परेको छ ।
यता बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले मान्छे खाने बाघ अझै फेला नपरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार घटनापछि बाघ कहाँ गयो भन्नेबारे अहिलेसम्म कुनै ठोस तथ्य पत्ता लाग्न सकेको छैन । ‘मान्छे खाएपछि बाघ कहाँ गयो, कता गयो भन्नेबारे खोजी भइरहेको छ, तर अहिलेसम्म कतै पत्ता लागेको छैन’ कँडेलले भन्नुभयो ‘बाघ जुन ठाउँबाट आएको हो, त्यहीँ फर्किएको हुन सक्ने वा मरेका वस्तुभाउमा राखेको पोइजनिङ (बिष सेवन) का कारण मरेको हुनसक्ने आशंका भए पनि त्यसको पुष्टि हुन सकेको छैन् ।’
बाघको खोजी तथा अनुसन्धानलाई प्रभावकारी बनाउन निकुञ्जले क्यामरा ट्रयापको संख्या बढाउने तयारी गरेको छ । उहाँका अनुसार अब २२ बढी क्यामरा राखेर अनुसन्धानलाई तीव्रता दिइनेछ । सन् २०२२ मा गरिएको बाघ गणनामा सो बाघ नदेखिएको उल्लेख गर्दै कँडेलले त्यसबेला बाघ बच्चा अवस्थामा रहेको हुनसक्ने वा भारतबाट भित्रिएको हुनसक्ने आशंका गरिएको बताउनुभयो ।