समावेशी नेतृत्वका लागि क्षमता विकास तालिम

 


सल्यान, ११ माघ ।
समुदायको आवाज नीति निर्माण तहसम्म पु¥याउने अगुवाहरू सशक्त नभएसम्म समावेशी र न्यायपूर्ण समाजको कल्पना अधुरो रहने यथार्थलाई आत्मसात् गर्दै सल्यानमा क्षमता विकास तालिम सञ्चालन गरिएको छ । नागरिक समाज संस्था र समुदायमा आधारित संस्थामा आबद्ध अगुवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै लैङ्गिक समानता, सामाजिक समावेशीकरण र नारीवादी नेतृत्वको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको यो तालिमले तल्लो तहसम्म सकारात्मक परिवर्तनको आशा जगाएको छ ।

विशेषगरी महिला तथा सीमान्तकृत समुदायको नीति निर्माण प्रक्रियामा पहुँच विस्तार गर्न केन्द्रित यो कार्यक्रमलाई सहभागीहरूले समाज रूपान्तरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् । सल्यानमा क्रियाशील नागरिक समाज संस्था र समुदायमा आधारित संस्थामा आबद्ध अगुवाहरूलाई लक्षित गरी उक्त तालिम अक्सफाम नेपालको सहयोगमा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतले कर्णाली प्रदेशमा कार्यान्वयन गरिरहेको महिला सशक्तिकरणमार्फत नीति निर्माणमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत सञ्चालन गरिएको हो ।

नागरिक समाज संस्था तथा समुदायमा आधारित संस्थासँग आबद्ध अगुवाहरूको नेतृत्व क्षमता विकास गर्नुका साथै लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र नारीवादी नेतृत्व सिद्धान्तसम्बन्धी जागरूकता र बुझाइमा वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको परियोजना संयोजक हिक्मत नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिक समाज र समुदायमा आधारित संस्था तथा स्थानीय शासन संरचनाहरूमा समावेशी र सहभागितामूलक निर्णय प्रक्रियालाई प्रवद्र्धन गर्न तालिम प्रभावकारी हुने विश्वास गरिएको छ ।

तालिमको सहजकर्तामा अमृता अधिकारी रहनुभएको थियो । सो अवसरमा रूपान्तरणकारी तथा नारीवादी नेतृत्व, लैङ्गिक मूलप्रवाहीकरण (लैङ्गिक समानता, शक्ति सम्बन्ध र सामाजिक समावेशीकरण), संगठनात्मक व्यवस्थापन, सामुदायिक संलग्नता तथा महिला र सीमान्तकृत समूहहरूको अधिकारको वकालतमा नागरिक समाज र समुदायमा आधारित संस्थाहरूको भूमिकामाथि प्रस्तुतीकरणसहित गहन छलफल गरिएको थियो ।

संस्थाकी अध्यक्ष देवी पौडेलले तालिमले नागरिक समाज संस्था र समुदायमा आधारित संस्थामा आबद्ध अगुवाहरूको भूमिका अझ प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संस्थाकी कार्यकारी निर्देशक मधुरानी ढकालले महिला तथा सीमान्तकृत समूहहरूको अधिकारको वकालत गर्न नागरिक समाज र समुदायमा आधारित संस्थाहरूले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

खलंगामा सम्पन्न तालिममा जिल्लास्थित विभिन्न नागरिक समाज संस्था तथा समुदायमा आधारित संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस