
सल्यान, १४ माघ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने सल्यानमा क्रियाशिल दलहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानले बुधबार खलंगामा आयोजना गरेको निर्वाचन लक्षित जिल्ला आचारसंहिता अनुगमण समितिको बैठकमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचन आचारसंहिताको पुर्णरुपमा पालना गर्ने र समय तथा स्थान जुध्ने गरी निर्वाचन सम्बन्धी कार्यक्रम संचालन नगर्ने र कार्यक्रमबारे नजिकैको सुरक्षा निकायमा जानकारी गराउने प्रतिवद्धतासमेत उनीहरुले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जानकारीमा सभा सम्मलेन गर्न दलहरू सहमत भएका छन् । बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।
मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक प्रल्हादकुमार योगीले निर्वाचन आचारसंहिता निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि बनाइएको भन्दै यसको पालना सबै राजनीतिक दल र उम्मेदवारको दायित्व भएको बताउनुभयो । उहाँले आचारसंहिता उल्लंघन भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने स्पष्ट पार्दै निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी सबैको साझा रहेको उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्नु प्रशासनको प्राथमिकता रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना नगरेमा कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै दल तथा उम्मेदवारलाई जिम्मेवार र मर्यादित व्यवहार गर्न आग्रह गर्नुभयो । जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता सबैका लागि समान रूपमा लागू हुने बताउनुभयो । उहाँले प्रचार–प्रसार, सभा–समारोह, खर्च व्यवस्थापन लगायतका विषयमा आयोगको निर्देशन कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उम्मेदवार, दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतको सहभागीता रहेको थियो । यही माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।