सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मल्लको चुनावी प्रचार तीव्र, जनलहर बढ्दै

सल्यान, १५ माघ ।
सल्यानमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश कुमार मल्लको चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका विभिन्न पालिकामा भेटघाट, छलफल, वस्तीस्तरमा घरदैलो, मतदाता भेटघाट तथा मत माग्ने कार्यक्रम आक्रामक रूपमा सञ्चालन भइरहेका छन् ।

उम्मेदवार मल्लले सल्यानको विकास र समृद्धिका लागि इमान्दार रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफू देश र जनताले खोजेको उम्मेदवार भएको उल्लेख गर्दै तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ । मतदाताहरूले समेत सल्यानको भावना बोक्ने र जनताले चाहेको उम्मेदवार मल्ल नै भएको भन्दै तारा चिन्हमा मतदान गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनप्रिय र सबैले चाहेको उम्मेदवार भएकाले मल्लको विकल्प नरहेको एक मतदाताले बताए ।

यसैबीच प्रतिनिधिसभा निर्वाचन केन्द्रित नेकपाको नगर समिति बैठक तथा प्रशिक्षण भेला सल्यानको बागचौरमा सम्पन्न भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने कार्यक्रमअन्तर्गत बागचौरमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्ल र समानुपातिकतर्फका उम्मेदवार शारदा परियारको सहभागिता रहेको थियो ।

साथै पार्टीका केन्द्रीय सदस्य प्रकाश ज्वाला, टेकबहादुर बस्नेत लगायतका नेताहरुका साथै कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस