चुनावी मैदानमा रमेश मल्ल, ‘यसपटक तारामा भोट हाल्छौँ’ – मतदाता

सल्यान, २ फागुन ।
नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट सल्यान प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश कुमार मल्लले आफ्नो पार्टीलाई नेपालको साझा कम्युनिष्ट शक्तिको रुपमा प्रस्तुत गर्दै मतदातासँग सहयोगको अपिल गर्नुभएको छ ।

विभिन्न समयमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका जिम्मेवार नेताहरू अहिले आफ्नै पार्टीमा आबद्ध रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा तारा चिन्ह मा मतदान गर्न आग्रह गर्नुभएको हो ।

उहाँले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल देखि नारायणकाजी र भीम रावल सम्मका नेताहरूले देशका लागि ठुलो योगदान दिएको र उनिहरू कम्युनिष्ट पार्टीमा नै हुन भनेको देशको लागि राम्रो विषय भएको बताउनुभयो ।

बागचौर नगरपालिका का विभिन्न वडा तथा टोलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तथा घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उहाँले जनतामाझ आफू काम गर्ने अवसर माग्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “पदमा हुँदा काम गर्न सहज हुन्छ, नहुँदा धेरै काम गर्न सकिँदैन। विगतमा केही काम गरियो, केही गर्न खोज्दा पनि सम्भव भएन, अब अवसर पाए बाँकी काम पूरा गर्नेछु ।”

उहाँले नयाँ भनिनेहरूको योगदान र लगानी कुनै नभएको भन्दै भ्रममा नपर्न अनुरोध पनि गर्नुभयो ।
घरदैलो अभियानअन्तर्गत वडा नं. ६, ७, ८ र ९ का विभिन्न स्थानमा आयोजित कार्यक्रमलाई समेत उहाँले सम्बोधन गर्नुभयो । जनयुद्ध दिवसका अवसरमा वडा नं. ७ को हिमचौर र वडा नं. ९ को प्लाटुनचौरमा आयोजित दुई वटा मेलालाई एकैदिन सम्बोधन गर्दै उहाँले मतदातासँग भेटघाट गर्नुभयो ।

भेटघाटका क्रममा वडा नं. ८ का युवा प्रकाश पहाडीले जिल्लामा युवा उम्मेदवार आएकोमा खुसी व्यक्त गर्दै जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी खुसी छौँ, २१ गते तारामा मतदान गर्छौँ, चिन्ह नयाँ भएकाले केही समय लाग्ला, तर सजिलो छ ।”

त्यस्तै वडा नं. ८ कै पुतला सार्कीले विगतमा हसिया–हतौडा चिन्हमा मतदान गरेको स्मरण गर्दै यसपटक तारा चिन्हमा मतदान गर्ने र रमेश मल्ललाई जिताउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मतदाताहरूले उम्मेदवारप्रति विश्वास व्यक्त गर्दै जितेपछि जनआवश्यकता अनुसार काम गर्नुपर्ने अपेक्षा समेत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस