
सल्यान, ३० फागुन ।
सामूहिक बलात्कारमा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सल्यानमा पनि विरोध ¥याली र खबरदारीसभा गरिएको छ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारवाहीको माग गर्दै शनिबार सल्लिबजारमा विरोध ¥याली निकालिएको छ भने बागचौर नगरपालिका ७ टाट्केवजारमा खबरदारीसभा गरिएको हो ।
उज्यालो भविष्य निर्माण आमा समूहको आयोजना र बागचौर नगरपालिका वडा नम्बर ७ को समन्वयमा खबरदारीसभा सम्पन्न भएको वडाअध्यक्ष प्रेम डाँगीले जानकारी दिनुभयो । खबरदारीसभामा सहभागिहरुले इनीसा बिकको हत्या प्रकरणका दोषीलाई आजीवन सजाय तथा फाँसीको माग गरिएको छ । यस्तै दोषीलाई कडा कारवाही गर्न, बलात्कारीलाई संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्न तथा छोरीहरूलाई सुरक्षित वातावरण सुनिश्चित गर्न माग गर्दै स्थानीयवासीले सल्लीवजारमा प्रदर्शन गरेका हुन् ।
स्थानीय समाजसेवी तुलाधर नेपालीको अगुवाइमा निकालिएको ¥यालीले सल्लिबजारका विभिन्न स्थान परिक्रमा गरेको थियो । प्रदर्शनमा किशोरी, महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीले सामूहिक बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कानुन अनुसार कडा कारवाही गर्न र कसैले पनि अपराधीलाई संरक्षण नगर्न राज्यसँग माग गरेका छन् ।