
सल्यान, २ चैत ।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह २०८२ को अवसरमा सल्यानमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । डिभिजन वन कार्यालय सल्यानको आयोजनामा त्रिवेणी गाउँपालिका–१ काभ्रास्थित जनता माध्यमिक विद्यालयमा प्रतियोगिता गरिएको हो ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीन वटै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ मनाइँदै आएको सप्ताहका कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा कक्षा ८, ९, ११ र १२ का गरी १० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम डिभिजनल वन अधिकृत टेकबहादुर रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा संयोजन त्रिवेणी सब-डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत सम्बन्ध रेग्मीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले वन डढेलो सम्बन्धी महत्वपूर्ण विषयमा प्रकाश पार्दै वनमा आगलागी हुने मुख्य कारण, त्यसबाट हुने क्षति तथा रोकथामका उपायबारे जानकारी दिनुभयो । उहाँले वनमा आगो नलगाउने, डढेलो लागेको देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउने र समुदायमा सचेतना फैलाउने जस्ता कार्य अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरूले पनि वन डढेलो रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै विद्यालय र समुदायमा जनचेतना फैलाउन, वन संरक्षणसम्बन्धी सन्देश प्रचार गर्न तथा जिम्मेवार नागरिकको रूपमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ ।