
सल्यान, २ चैत ।
‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने आदर्श वाक्यका साथ विश्व उपभोक्ता अधिकार दिवस सल्यानमा मनाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा आइतवार जिल्लाको श्रीनगरमा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले उपभोक्ता अधिकारको संरक्षणका लागि सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता स्वयं सबैको समान जिम्मेवारी रहने भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले उपभोक्ताको अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व मात्र नभई समाजका सबै पक्षको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले बजारमा गुणस्तरहीन वस्तु बिक्री, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि जस्ता समस्यालाई नियन्त्रण गर्न सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘उपभोक्ता सचेत भए बजार पनि व्यवस्थित हुन्छ, त्यसका लागि राज्य, व्यवसायी र उपभोक्ता तीनै पक्षको जिम्मेवार भूमिका आवश्यक छ’ उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले उपभोक्ता अधिकार संरक्षणका लागि प्रशासनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उहाँले बजारमा कालोबजारी, म्याद नाघेका वस्तु बिक्री तथा अव्यवस्थित व्यापारिक गतिविधिलाई नियन्त्रण गर्न प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । ‘पभोक्ताको स्वास्थ्य र सुरक्षासँग जोडिएका विषयमा कुनै सम्झौता हुँदैन, अनियमितता भेटिए कडाइका साथ कारबाही गरिनेछ’ उहाँले भन्नुभयो ।
यस्तै उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्रकुमार थापाले व्यवसायीहरू पनि उपभोक्ताप्रति जिम्मेवार हुनुपर्ने बताउँदै गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको धारणा राख्नुभयो । उहाँले स्वस्थ प्रतिस्पर्धा र पारदर्शी व्यापार प्रणालीले बजारलाई विश्वसनीय बनाउने उल्लेख गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले उपभोक्ता अधिकार संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले बजारमा हुने अनियमितता, कालोबजारी र उपभोक्तामाथि हुने अन्यायलाई उजागर गर्दै सचेतना फैलाउने काम पत्रकारहरूले निरन्तर गरिरहेको उल्लेख गर्नुभयो ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष मनवीर बस्नेतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योगहरूले उपभोक्ताको विश्वास जित्ने गरी उत्पादन र सेवामा सुधार ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा उपभोक्ता अधिकारकर्मी रामचन्द्र रेग्मी र कृष्णबहादुर बुढाले उपभोक्ताको अधिकार, बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षण सम्बन्धी कानुनी व्यवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो । उपभोक्ताले वस्तु खरिद गर्दा गुणस्तर, म्याद र मूल्यबारे सचेत हुनुपर्ने तथा ठगी वा अनियमितता भए सम्बन्धित निकायमा उजुरी दिनुपर्नेमा जोड थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा उपभोक्ताको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी ध्रुव खत्रीले गर्नुभएको थियो ।