प्रहरीद्धारा एक महिने प्रगति सार्वजनिक

सल्यान, ३ चैत ।
जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना अधिकारी एवं प्रहरी निरीक्षक पूर्ण बहादुर केसीले फागुन महिनाको कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

जसअनुसार एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरिएको छ । यस्तै, अपराध अनुसन्धानतर्फ फागुनमा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुरानो र नयाँ गरी २२ वटा मुद्दा फछ्र्यौट गरिएको छ । फैसला कार्यान्वयनका क्रममा विभिन्न मुद्दाका १६ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

यसैगरी, सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारी साधनलाई कारबाही गरिएको छ । जसबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक थान ट्याक्टरलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

प्रहरीले सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिएको जनाएको छ । जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध र साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र त्यसमा झन्डै २ हजार १ सय ४१ नागरिकको सहभागिता रहेको तथ्याङ्क छ । नागरिक सुनुवाइका क्रममा स्थानीयले पछिल्लो समय बढ्दै गएको आत्महत्या र साइबर अपराधको चुनौतीलाई सम्बोधन गर्न माग गरेका छन् ।
एक महिनाको अवधिमा सम्पादन गरेका कार्यप्रगतिको बारेमा जानकारी दिन सल्यान प्रहरीले प्रत्येक महिनाको २ गते नियमित पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस