
सल्यान, १९ चैत ।
सल्यानमा आगामी वैशाख २ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरू हुने भएको छ । यसअघि २०७५ सालमा पहिलोपटक आर्थिक गणना भएको थियो । मुलुकको आर्थिक नीति, योजना तथा विकास रणनीति निर्माणका लागि आधारभूत र भरपर्दो तथ्यांक उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यही वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर आर्थिक गणना गरिने भएको हो ।
यस राष्ट्रिय आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रमा आधारभूत विवरण संकलन गरिनेछ । यसमा दर्ता भएका वा नभएका ठूला–साना उद्योग, व्यापार–व्यवसाय, सेवा क्षेत्र, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायत आर्थिक क्रियाकलाप गरिरहेका एकाइहरू समेटिने छन् । पहिलो राष्ट्रिय आर्थिक गणना अनुसार जिल्लाभर ६०९८ प्रतिष्ठान तथा व्यवसाय गणना गरिएको थियो । जसमा सबैभन्दा धेरै शारदा नगरपालिका र सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा थिए ।
यस पटक पनि चैत १ गते कार्यालय स्थापना गरेर जिल्लामा आर्थिक गणनाको तयारी सुरु गरिएको जिल्ला आर्थिक गणना अधिकारी केशर कुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार गणना कार्यलाई सफल बनाउन ४ जना सुपरिवेक्षक र २४ जना गणक नियुक्ती गर्ने तयारी गरिएको छ । जिल्लाका उद्योग, प्रतिष्ठान, पसलहरूको आधारभूत विवरणहरु संकलन गरी तथ्यांक प्रकाशन गर्ने उहाँको भनाइ छ ।
गणनाको नतिजाले देशको आर्थिक र अन्य सामाजिक नीति निर्माण, योजना तर्जुमा र लक्ष्य निर्धारण तथा प्रगति मापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यसमा बिक्री वा निःशुल्क वितरणका लागि वस्तु वा सेवा उत्पादन गर्नेहरूको विवरण संकलन हुनेछ । दर्ता नगरी चलेका कृषि, वन तथा माछा पालन क्षेत्र, रोजगार दाताका रुपमा घरायसी कृयाकलापलाई गणनामा राखिने छैन ।
‘आधिकारिक तथ्यांक प्राप्त गर्न गणना गर्न लागेका हौं, यसले देशको उद्योग व्यवसायको अवस्था र योगदान उजागर गर्छ, देश–विदेशको अवस्था तुलना गर्न सकिन्छ, अनौपचारिकबाट औपचारिक अर्थतन्त्रमा लैजान मद्दत पुग्छ,’ उहाँले भन्नुभयो । उहाँले कागजी प्रश्नावली वा इसेन्सस प्रविधिबाट पनि आर्थिक तथ्यांक संकलन गरिने बताउनुभयो ।
जिल्लाको श्रीनगरमा सम्पन्न जिल्ला स्तरीय सचेतना गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले आर्थिक गणना देशको समग्र विकासको आधार तयार गर्ने महत्वपूर्ण प्रक्रिया भएको बताउनुभयो । ‘हामीले बनाउने नीति, योजना र बजेट सबै तथ्यांकमा आधारित हुनुपर्छ, त्यसका लागि यस्ता गणनाहरू अत्यन्त आवश्यक हुन्छन्’ उहाँले भन्नुभयो, ‘जिल्लाका सबै उद्योगी, व्यवसायी, सेवा प्रदायक र संस्थाहरूले आफ्नो वास्तविक विवरण खुलाएर सहयोग गर्नु जरुरी छ ।’ सही तथ्यांक बिना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले आर्थिक गणनाले स्थानीय तहसम्मको वास्तविक आर्थिक अवस्थालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले कतिपय अवस्थामा अनुमानका भरमा योजना बनाउँदै आएका छौं, तर अब यस्ता वैज्ञानिक तथ्यांकले योजना निर्माणलाई अझ प्रभावकारी बनाउनेछ’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारदेखि संघीय सरकारसम्म सबै तहलाई उपयोगी हुने भएकाले यो अभियानलाई सफल बनाउन सबैको साथ आवश्यक छ ।’
यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले आर्थिक गणनालाई स्थानीय विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अभियानको रूपमा लिनुपर्ने बताउनुभयो । ‘नगरभित्र सञ्चालनमा रहेका साना–ठूला व्यवसाय, सेवा र उद्योगहरूको यथार्थ विवरण संकलन हुँदा मात्रै हामीले लक्षित कार्यक्रम बनाउन सक्छौं’ उहाँले भन्नुभयो । विशेषगरी महिला उद्यमी, साना व्यवसायी र अनौपचारिक क्षेत्रमा काम गर्नेहरूलाई पनि समेट्न सके स्थानीय अर्थतन्त्र अझ सुदृढ बन्ने उहाँको भनाइ छ ।
उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले निजी क्षेत्रको सहभागिता बिना आर्थिक गणना पूर्ण नहुने उल्लेख गर्नुभयो । ‘व्यवसायीहरूमा कहिलेकाहीँ कर वा अन्य झन्झटको डरले तथ्यांक दिन हिच्किचाहट देखिन्छ’ उहाँले भन्नुभयो ‘तर यो गणना कर उठाउने प्रक्रिया नभई तथ्यांक संकलन मात्र भएको बुझ्न जरुरी छ, सही विवरणले नै व्यवसायीको वास्तविक योगदान देखाउने भएकाले सबैले खुलेर सहयोग गर्नुपर्छ ।’
जनप्रतिनिधि, पत्रकार, उद्योगी, व्यावसायी लगाएत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक आर्थिक गणना अधिकारी भुपेन्द्र जंग शाहीले गर्नुभएको थियो ।