नागरिकको घरमै राहदानी

उहाँका अनुसार यस सेवाले राहदानी लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हट्नुका साथै नागरिकको समय, श्रम र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।

सल्यान, २३ जेठ ।

सल्यानमा नागरिकको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुलाक कार्यालय सल्यानबीच गत वैशाख २३ गते भएको सम्झौताअनुसार उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो । सेवाअन्तर्गत पहिलोपटक बनगाड कुपिण्डे नगरपालिका–१ निवासी डिल्लीबहादुर रावत र सन्तोषी रावतको राहदानी घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

यससँगै नागरिकलाई सहज र झन्झटरहित रूपमा राहदानी उपलब्ध गराउने अभियानको औपचारिक सुरुवात भएको हो । जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार पहिलो चरणमा ६९ थान राहदानी जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका छन् । ती राहदानी सम्बन्धित पालिकामा रहेका हुलाक कार्यालयमार्फत वितरणका लागि पठाइसकिएको छ ।

प्राप्त राहदानीमध्ये कालिमाटी गाउँपालिकामा ९ थान, बनगाड कुपिण्डे नगरपालिकामा ७ थान, कपुरकोट गाउँपालिकामा ७ थान, त्रिवेणी गाउँपालिकामा ७ थान, छत्रेश्वरी गाउँपालिकामा ९ थान , बागचौर नगरपालिकामा १६ थान, दार्मा गाउँपालिकामा ३ थान, कुमाख गाउँपालिकामा १ थान , सिद्धकुमाख गाउँपालिकामा ५ थान र शारदा नगरपालिकामा ५ थान रहेका छन् । हुलाक अधिकृत रेग्मीले प्राप्त सबै राहदानी एक–दुई दिनभित्र सम्बन्धित सेवाग्राहीसम्म पु¥याइने जानकारी दिनुभयो ।

उहाँका अनुसार यस सेवाले राहदानी लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हट्नुका साथै नागरिकको समय, श्रम र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । नागरिकमैत्री सेवाको रूपमा हेरिएको यो अभियानले दुर्गम क्षेत्रका सेवाग्राहीलाई विशेष राहत पुग्ने विश्वास गरिएको छ । जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस