
सल्यान, २४ असार ।
पशुपालनलाई आधुनिक, व्यावसायिक र आम्दानीको भरपर्दो माध्यम बनाउँदै जिल्लामै उदाहरणीय काम गरेका सल्यानका तीन जना कृषक यस वर्ष मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । वर्षौँदेखि पशुपालनलाई व्यवसायका रूपमा अगाडि बढाउँदै उत्पादन, रोजगारी र आत्मनिर्भरताको सन्देश फैलाएका उनीहरूलाई नगदसहित सम्मान गरिएको हो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले मंगलबार आयोजना गरेको स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरूसँग प्रगति समीक्षा तथा तथ्याङ्क भ्यालिडेशन सम्बन्धी एकदिने समन्वयात्मक गोष्ठी तथा मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा जिल्लाका उत्कृष्ट पशुपालक कृषकहरूलाई सम्मान गरिएको हो ।
पुरस्कारको प्रथम स्थान कालिमाटी गाउँपालिका–५ दमदुवालीस्थित शुसाङ्क एण्ड शुसान्त ब्रोदर एग्रिकल्चर फर्मका सञ्चालक सुरेश गाहाले प्राप्त गर्नुभएको छ । उहाँलाई नगद ३० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ । करिब डेढ दशकअघि केवल नौ वटा बाख्राबाट व्यवसाय सुरु गर्नुभएका गाहाले अहिले आफ्नो फर्मलाई जिल्लाकै नमुना बाख्रापालन केन्द्रका रूपमा विकास गर्न सफल हुनुभएको छ । हाल उहाँको फर्ममा करिब १०० वटा बोयर, बोयर क्रस तथा अन्य उन्नत जातका बाख्रा छन् ।
बाख्रापालनसँगै तीन बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएका उहाँले पशुपालनलाई वैज्ञानिक र दिगो बनाउन आवश्यक आहार व्यवस्थापनमा समेत विशेष ध्यान दिँदै आउनुभएको छ । उहाँले उत्पादन गरेका खसीबोका, बाख्रा तथा घाँसको माग जिल्लाभित्र मात्र सीमित छैन । सुर्खेत, नेपालगञ्ज, बुटवल हुँदै काठमाडौंसम्म उहाँका उत्पादन पुग्ने गरेका छन् । व्यवसायबाट मात्रै उहाँले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । मेहनत, लगनशीलता र आधुनिक व्यवस्थापनका कारण उहाँको फर्म अन्य कृषकका लागि समेत सिकाइको केन्द्र बन्दै गएको छ ।
यस्तै, पुरस्कारको दोस्रो स्थान कुमाख गाउँपालिका–६ बडागाउँस्थित नमुना कृषि तथा पशुपन्छी फर्मका सञ्चालक टिका डाँगीले हासिल गर्नुभएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ । करिब सात वर्षअघि निर्वाहमुखी पशुपालनबाट व्यावसायिक भैंसीपालनतर्फ लाग्नुभएका डाँगीसँग हाल आठ वटा भैंसी छन् । गाउँमै बसेर केही गरौँ भन्ने सोचका साथ व्यवसाय सुरु गर्नुभएका उहाँले दूध उत्पादन तथा पशुपालनबाट वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । व्यावसायिक सोच, निरन्तर परिश्रम र पशुपालनप्रतिको समर्पणले उहाँलाई जिल्लाकै सफल कृषकमध्ये एकका रूपमा स्थापित गरेको छ ।
त्यसैगरी, तेस्रो स्थान बनगाड कुपिण्डे नगरपालिका–३ का नन्दसिंह पुनले प्राप्त गर्नुभएको छ । उहाँलाई नगद २० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ । आठ वर्षअघि स्थापना गरिएको गोरख बाख्रापालन फर्ममार्फत व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका पुनसँग हाल ६५ वटा बाख्रा छन् । गाउँमै बसेर स्वरोजगार सिर्जना गर्ने उद्देश्यका साथ सुरु गरिएको व्यवसायबाट उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । निरन्तर मेहनत, उचित व्यवस्थापन र बजारको मागअनुसार उत्पादन गर्दै आएको कारण उहाँको व्यवसाय विस्तार हुँदै गएको छ ।
कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. अनुप श्रेष्ठले जिल्लाभरबाट प्राप्त आवेदनका आधारमा विभिन्न सूचकहरू मूल्याङ्कन गरी उत्कृष्ट पशुपालक कृषक छनोट गरिएको जानकारी दिनुभयो । उहाँले आधुनिक प्रविधिमा आधारित व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न तथा कृषकको मनोबल बढाउन पुरस्कार कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । पशुपालनलाई व्यवसायका रूपमा विकास गर्दै आत्मनिर्भर बन्न इच्छुक कृषकहरूका लागि यस्ता सम्मानले थप ऊर्जा प्रदान गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले कृषकको सम्मान भनेको कृषि क्षेत्रको सम्मान भएको बताउँदै उत्पादनमुखी कृषिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले कृषिमा आधुनिक प्रविधिको प्रयोग, व्यावसायिक सोच र बजारसँग जोडिएको उत्पादनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उल्लेख गर्नुभयो । यस्तै, प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले कृषि र पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको आधारस्तम्भका रूपमा अघि बढाउन सबै तहका निकायले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मेहनत गर्ने कृषकलाई राज्यले सम्मान गर्दै प्रोत्साहन गर्नु सकारात्मक अभ्यास भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरूले आफ्नो पालिकामा पशु सेवा क्षेत्रतर्फ भएका प्रगति, उपलब्धि तथा चुनौती प्रस्तुत गरेका थिए । पशु स्वास्थ्य, कृत्रिम गर्भाधान, पशु बीमा, खोप कार्यक्रम, उत्पादन वृद्धि तथा तथ्याङ्क व्यवस्थापनका विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका बिरेन्द्र केसीले गर्नुभएको थियो ।