
सल्यान, २६ असार ।
कुनै समय कक्षाकोठामा विद्यार्थीलाई पढाउने काम गर्नुहुन्थ्यो ३४ वर्षीय उत्तम थापाले । निजी स्रोतमा अध्यापनको काम गर्नुभएका उहाँलाई लाग्यो, शिक्षण पेशाभन्दा कृषि पेशामा सम्भावनाको आकाश अझ फराकिलो छ । त्यसपछि उहाँले चक र डस्टरभन्दा खेतबारी रोज्नुभयो, र आज त्यही निर्णयले उहाँलाई सफल व्यावसायिक कृषकको परिचय दिएको छ । शारदा नगरपालिका–७ रामेखोलामा सञ्चालित ‘ब्रदर्स कृषि फर्म’ का सञ्चालक थापाले २५ रोपनी जग्गा लिजमा लिएर पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
दशैं–तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै मुख्यतः टमाटर उत्पादनमा उहाँको विशेष ध्यान छ । ‘बर्षेनी करिब दुई लाख रुपैयाँ जग्गा भाडामै जान्छ, मल, बीउ र अन्य खर्च जोड्दा पाँच/छ लाख रुपैयाँसम्म लागत पर्छ’ उहाँ भन्नुहुन्छ, ‘उत्पादन राम्रो भयो र बजार मूल्य पनि साथ दियो भने वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ थापाको खेतमा टमाटरसँगै काउलीले पनि राम्रो उत्पादन दिइरहेको छ ।
ठूलो परिवार भएकाले खेतीपातीका काममा स्थानीयलाई रोजगारी दिने गरिएको छ । ब्याड तयार पार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने लगायतका काममा गाउँकै मानिसले काम पाउने गरेका छन् । कृषि विकास कार्यालयको सहयोगमा थोपा सिँचाइ, टनेल र प्लाष्टिक जस्ता प्रविधि भित्रिएपछि उत्पादन अझ व्यवस्थित र व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ ।
सिद्धकुमाख गाउँपालिका–१ पटारेका कृषक लैनबहादुर बुढाथोकी पनि पछिल्लो एक दशकदेखि तरकारी खेतीमै रमाइरहनुभएको छ । ‘बाटिका कृषि तथा पशुपालन फर्म’ मार्फत उहाँले बेमौसमी तरकारी उत्पादनलाई प्राथमिकता दिनुभएको छ । पछिल्ला केही वर्षयता टनेलभित्र खेती गर्न थालेपछि उत्पादनमा उल्लेखनीय सुधार आएको उहाँको अनुभव छ । दशैं–तिहारलाई लक्षित गर्दै टमाटर खेतीमा विशेष जोड दिइएको छ भने काउली, सिमी, करेला लगायतका तरकारीले पनि खेत भरिएका छन् ।
हिउँदमा बोडी र केराउ खेतीसँगै मुलाको बीउ उत्पादन पनि गर्दै आउनुभएको छ । ‘सबै खर्च कटाएर तरकारी खेतीबाट मात्रै वार्षिक तीन लाख रुपैयाँसम्म बचत हुन्छ’ बुढाथोकी भन्नुहुन्छ । कृषि कार्यालयको अनुदानमा निर्माण गरिएको फलामे टनेलले खेतीलाई थप सुरक्षित र व्यवस्थित बनाएको उहाँको भनाइ छ । अब टमाटरसँगै लहरेबाली विस्तार गर्ने योजना पनि उहाँको छ ।
तर कृषि सधैं आशाको कथा मात्रै होइन, जोखिमको अर्को नाम पनि हो । त्रिवेणी गाउँपालिका ४ टुनीबोटका कृषक इन्द्रबहादुर विष्ट विगत डेढ दशकदेखि १४/१५ रोपनी क्षेत्रफलमा बेमौसमी टमाटर खेती गर्दै आउनुभएको छ । वार्षिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उहाँको खेती यस वर्ष भने रोगका कारण नराम्ररी प्रभावित भयो । ‘एक्कासी परेको धेरै वर्षाले पछौटे डढुवा रोग फैलियो, नियन्त्रण गर्नै सकिएन’ उहाँले पीडा सुनाउँदै भन्नुभयो ‘पहिले पातमा समस्या देखियो, पछि बोट नै सुक्न थाले ।’
बजार मूल्यको उतारचढावले पनि किसानलाई उत्तिकै सताउने गरेको छ । सिजनको सुरुवातमा प्रतिकिलो २३ रुपैयाँमा बिक्री भएको टमाटर केही समयपछि ५० रुपैयाँसम्म पुगेको थियो । तर, बजारमा एकैपटक धेरै उत्पादन आउँदा मूल्य फेरि घटेर १५ रुपैयाँ प्रतिकिलोसम्म झर्यो । ‘पाकेको टमाटर खेतमै राखेर हुँदैन, जतिसक्दो छिटो बजार पठाउनुपर्छ’ विष्ट भन्नुहुन्छ, ‘यस वर्ष रोगकै कारण करिब तीन लाख रुपैयाँ बराबरको क्षति भयो ।’ यो समस्या उहाँ एक्लैको होइन, जिल्लाका धेरै तरकारी किसानको साझा समस्या हो ।
यद्यपि चुनौतीका बीच पनि सल्यानमा व्यावसायिक तरकारी खेतीप्रतिको आकर्षण बढ्दो छ । जिल्लाभर हजारौँ कृषक तरकारी उत्पादनमा आबद्ध छन् । परम्परागत खेतीबाट व्यावसायिक कृषि प्रणालीतर्फ किसानको झुकाव बढ्दै गएको छ । कृषि विकास कार्यालय सल्यानले पनि व्यावसायिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यालय प्रमुख महेश आचार्यका अनुसार आधुनिक प्रविधि, अनुदान, सिँचाइ तथा टनेल व्यवस्थापनमार्फत किसानलाई व्यावसायिक कृषि विस्तारमा सहयोग पु¥याइँदै आएको छ । उहाँले रोड करिडोर केन्द्रित उत्पादन, व्यावसायिक उत्पादन प्रवद्र्धन, युवा लक्षित कार्यक्रम, मागमा आधारित सिँचाइ तथा प्रोत्साहन लगाएतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । जिल्लाको कपुरकोट र त्रिवेणीमा व्यावसायिक रुपमा तरकारी खेती भैरहेको छ । यसका साथै शारदा, सिद्धकुमाख, बागचौर लगाएतका क्षेत्रमा पनि केहीमात्रामा तरकारी खेती भैरहेको छ ।
अहिले कपुरकोट र त्रिवेणीका विभिन्न क्षेत्रमा साप्ताहिक रुपमा नै हाट वजार सञ्चालन भैरहेका छन् । कृषकले उत्पादन गरेको बेमौसमी तरकारी विक्रीवितरणमा सहजताको लागि यहाँ हाटवजार सञ्चालन भैरहेका हुन् । सल्यानका खेतबारीहरूमा अहिले टमाटरका राताम्य बोटहरू मात्रै फक्रिरहेका छैनन्, किसानका सपना र सम्भावनाहरू पनि उत्तिकै हरियाली हुँदै गएका छन् ।
जिल्लाभर करिब ८ हजार २ सय हेक्टरमा तरकारी खेती गरिन्छ । उत्पादन भएको १ लाख १९ हजार ७६५ मेट्रिक टन तरकारीमध्ये ६५ हजार ५४९ मेट्रिक टन जिल्ला बाहिर निकासी हुन्छ । जसबाट बर्सेनी ५२ करोड रुपैँया बढी जिल्लामा भित्रिने गरेको छ ।
यहाँ विशेष गरी बेमौसमी टमाटर, बन्दागोभी, काउली, घिउसिमी, बोडी, भँडे खुर्सानी, अकाबरे खुर्सानी, काँक्रो, इस्कुस, मुला र हरियो केराउको व्यापक खेती गरिन्छ । यहाँको ताजा तरकारी राप्ती लोकमार्ग हुँदै मुख्य रूपमा दाङको तुलसीपुर र घोराही, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँ र भारतका विभिन्न सीमावर्ती बजारहरूसम्म आपूर्ति हुने गरेको छ । बजारको सुनिश्चितता, रोग नियन्त्रण र उचित मूल्यको व्यवस्था हुन सके, यी खेतहरूले केवल तरकारी मात्र होइन, गाउँको समृद्धिको नयाँ इतिहास पनि फलाउन सक्नेछन् ।