सल्यानका तीन कृषक सम्मानित

सल्यानमा व्यावसायिक कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन जना कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित भएका छन् । कृषि विकास कार्यालय सल्यानले स्थानीय तह तथा सरोकारवालासँगको प्रगति समीक्षा एवं तथ्यांक भ्यालिडेशन गोष्ठीका अवसरमा उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको हो ।

सल्यान, ३२ असार ।

सल्यानमा व्यावसायिक कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन जना कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित भएका छन् । कृषि विकास कार्यालय सल्यानले बुधबार स्थानीय तह तथा सरोकारवालासँगको प्रगति समीक्षा एवं तथ्यांक भ्यालिडेशन गोष्ठीका अवसरमा उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको हो ।

पुरस्कारअन्तर्गत बागचौर नगरपालिका–७ मारिचौरका अदुवा कृषक तारादेव वली प्रथम हुनुभएको छ । उहाँलाई नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । ३५ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आउनुभएका वलीले करिब २ करोड रुपैयाँ लगानी गरी अदुवासँगै आलु खेती तथा करिब पाँच हजार ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएको छ । उहाँको वार्षिक कारोबार करिब ८० लाख रुपैयाँ रहेको छ । बाँझो जमिनलाई उत्पादनमा रूपान्तरण गर्दै व्यावसायिक अदुवा खेती विस्तार गरेको योगदानका आधारमा उहाँ उत्कृष्ट कृषकका रूपमा छनोट हुनुभएको हो ।

त्यस्तै, बागचौर नगरपालिका–७ कै शोभाराम वली द्वितीय उत्कृष्ट कृषक घोषित हुनुभएको छ । उहाँलाई नगद २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । उहाँले सुन्तला, कागती, ओखर तथा टिमुरका बिरुवा उत्पादन गर्दै एक सिजनमा करिब २८ हजार बिरुवा बिक्री गर्दै आउनुभएको छ । साथै ४ सय बोट सुन्तला र २० रोपनी क्षेत्रफलमा अदुवा तथा बेसार खेती गर्दै वार्षिक ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आउनुभएको छ ।

यस्तै, त्रिवेणी गाउँपालिका–४ का पोषणराज रावत तृतीय उत्कृष्ट कृषक घोषित हुनुभएको छ । उहाँलाई नगद २० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ । रावतले ९ रोपनी क्षेत्रफलमा टमाटर, बन्दा, काउली, सिमी, बोडी र काक्रो खेती गर्दै वार्षिक २१ टन तरकारी उत्पादन तथा बिक्री गर्दै आउनुभएको छ । साथै ६ रोपनीमा धान, मकै र गहुँ खेती गर्नुका साथै ५०० भन्दा बढी ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न व्यावसायिक कृषकलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले उत्पादनसँगै बजारीकरण, आधुनिक प्रविधिको प्रयोग र युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकीले स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय भए कृषि क्षेत्रको विकासले थप गति लिने बताउनुभयो । उहाँले उत्पादन वृद्धि, सिँचाइ, प्रविधि विस्तार र बजार व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र किसानको आयआर्जन बढाउन सरकारी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले वास्तविक कृषकसम्म सेवा र अनुदान पारदर्शी ढंगले पु¥याउन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गरेका कार्यक्रम तथा उपलब्धिबारे जानकारी गराउँदै चालुतर्फ ७४.८४ प्रतिशत र पुँजीगततर्फ ८३.७७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँले कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती विस्तार तथा कृषकको आयआर्जन अभिवृद्धिका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस