सल्यानका तीन सामुदायिक वन सम्मानित

सम्मानित हुनेमा श्री गाईगौरेनी सामुदायिक वन उपभोक्ता समुह त्रिवेणी गाउँपालिका ५ सिम्क प्रथम, सरस्वती सामुदायिक वन उपभोक्ता समुह कुमाख गाउँपालिका ६ द्धितीय र भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समुह छत्रेश्वरी गाउँपालिका ६ तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । ती वन उपभोक्ता समूहलाई वन संरक्षण, दिगो व्यवस्थापन, सुशासन, जैविक विविधता संरक्षण तथा सामुदायिक सहभागितामा पु¥याएको योगदानका आधारमा प्राप्त निवेदनबाट छनोट गरिएको हो ।

सल्यान, १ साउन ।
उत्कृष्ट वन व्यवस्थापन, संरक्षण र संस्थागत सुशासनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सल्यानका तीन वटा सामुदायिक वन सम्मानित भएका छन् । जिल्ला वन समन्वय समितिको बैठक तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा बैठकका अवसरमा बिहीबार तीन सामुदायिक वनलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा श्री गाईगौरेनी सामुदायिक वन उपभोक्ता समुह त्रिवेणी गाउँपालिका ५ सिम्क प्रथम, सरस्वती सामुदायिक वन उपभोक्ता समुह कुमाख गाउँपालिका ६ द्धितीय र भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समुह छत्रेश्वरी गाउँपालिका ६ तृतीय भएका छन् ।

प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । ती वन उपभोक्ता समूहलाई वन संरक्षण, दिगो व्यवस्थापन, सुशासन, जैविक विविधता संरक्षण तथा सामुदायिक सहभागितामा पु¥याएको योगदानका आधारमा प्राप्त निवेदनबाट छनोट गरिएको हो । आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्यसम्पादन गरेका सामुदायिक वन उपभोक्ता समूहलाई वार्षिक कार्यक्रमअनुसार सम्मान गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले जानकारी दिनुभयो । सम्मानले सामुदायिक वनहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै वन संरक्षण र व्यवस्थापनमा थप उत्साह मिल्ने उहाँको भनाइ छ ।

वन कार्यालयको वार्षिक प्रगति विवरणअनुसार सल्यानमा ६२६ वटा सामुदायिक वन रहेका छन्, जसले ७२ हजार १३.२५ हेक्टर क्षेत्रफल ओगटेका छन् र ६२ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित छन् । यस्तै दुई सय तीन कबुलियती र दुई वटा धार्मिक वन रहेका छन् । चालु आर्थिक वर्षमा तीन हजार एक सय १९ जना सहभागी हुने गरी ८३ वटा क्षमता विकास तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यस अवधिमा १६५ वटा सामुदायिक वनको कार्ययोजना म्याद समाप्त भएकोमा १५१ वटा नविकरण भएका छन् ।

वन संरक्षणतर्फ १४ हेक्टर क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रण गरी पुनःस्थापना गरिएको छ भने दुई वटा हुँडार, हाँसे बकुल्ला एक वटा र चार वटा घोरल गरी सात वन्यजन्तुको उद्धार तथा उपचार गरिएको कार्यालयले जनाएको छ । वनजन्य उत्पादनतर्फ यस वर्ष ३३ लाख ९० हजार ५०९ किलोग्राम खोटो, २२ लाख ६३ हजार ६६५ किलोग्राम जडीबुटी निकासी भई उल्लेखनीय राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यद्यपि वन डढेलो चुनौतीपूर्ण बनेको छ । गएको वर्ष जिल्लाभर १४२ वटा डढेलो लाग्दा ४ हजार ३३८ हेक्टर वन क्षेत्र प्रभावित भएको छ । वन्यजन्तुको आक्रमणबाट मानव, पशुधन तथा बालीमा भएको क्षतिबापत २२ लाख ८४ हजार ३२२ रुपैयाँ राहत वितरण गरिएको कार्यालयले जनाएको छ । बैठकमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले सामुदायिक वनहरू वन संरक्षणका मात्र होइन, स्थानीयको आयआर्जन, जैविक विविधता संरक्षण, जलाधार संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण आधार बनेको बताउनुभयो ।

उहाँले वनलाई उत्पादन र संरक्षणसँगै स्थानीय समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सामुदायिक वन, स्थानीय तह र सरोकारवाला निकायबीचको समन्वय अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो । साथै वन डढेलो नियन्त्रण, अवैध कटानी रोकथाम र वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्दै उत्कृष्ट कार्य गर्ने वन उपभोक्ता समूहबाट अन्यले पनि सिक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकी, शारदा नगरपालिकाका नगरप्रवक्ता राजेश कुमार शर्मा लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस