
साउन ९, तुलसीपुर ।
दाङको तुलसीपुरका चन्द्रवीर ओलीलाई सहयोग गरिएको छ । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत BALLB दोस्रो सेमेस्टरका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै वर्षौंदेखि सडक निर्माणमा श्रम गरेका श्रमिक चन्द्रवीर ओलीलाई सम्मानसहित खाद्यान्न तथा अत्यावश्यक घरायसी सामग्री सहयोग गरेका हुन ।
विद्यार्थीहरूले तुलसीपुर–३, खमारीस्थित चन्द्रवीर ओलीको निवासमै पुगेर चामल, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य खाद्यान्न तथा आवश्यक घरायसी सामग्री हस्तान्तरण गर्दै उहाँको श्रम, इमानदारी र समाजप्रतिको योगदानप्रति सम्मान व्यक्त गरेका हुन । श्रमको सम्मान, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्न सहयोग गरिएको विद्यार्थीहरूले बताएका छन ।

चन्द्रवीर ओली दाङका त्यस्ता श्रमिक हुन्, जसले आफ्नी दृष्टिविहीन श्रीमती र दृष्टिविहीन सन्तानलाई सहज आवतजावत गराउने उद्देश्यले कुनै सरकारी सहयोगबिना गैंती र बेल्चाको भरमा पहाड काटेर आफ्नै गाउँसम्म सडक निर्माण गर्नुभएको थियो ।करिब दुई वर्षसम्म निरन्तर श्रम गरेर निर्माण गरिएको उक्त सडक अहिले स्थानीय बासिन्दाले समेत प्रयोग गर्दै आएका छन । उहाँको असाधारण मेहनत र समर्पणका कारण उक्त सडक ‘चन्द्रवीर मार्ग’का नामले परिचित बनेको छ । अहिले पनि सडकमा पहिरो वा अवरोध आएमा उहाँ स्वयं सफाइ र मर्मतमा जुट्ने गर्नुहुन्छ ।
सो अवसरमा तुलसीपुर मेट्रो कलेजका प्राचार्य बसन्तकुमार आचार्य, कानून विभागका संयोजक विजय पोखरेल तथा प्राध्यापकहरू किशोर अर्याल, बसन्त टन्डन, प्रकृति कोइराला र प्रेक्षा गोराथोकीको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण गर्दै वक्ताहरूले कानूनको अध्ययन ऐन–कानून र अदालतका निर्णयमा मात्र सीमित नरही न्याय, समानता, करुणा र मानवीय मूल्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । समाजमा कानूनी चेतनासँगै सामाजिक सेवा र उत्तरदायित्वको भावना विकास गर्न सके मात्र न्यायपूर्ण समाज निर्माण सम्भव हुने उनीहरूको भनाइ थियो ।

विद्यार्थीहरूको यो पहलले विधिको शासन, मानव मर्यादा, सामाजिक न्याय, उत्तरदायित्व र सार्वजनिक हितजस्ता कानूनी मूल्यहरूलाई व्यवहारिक रूपमा अभ्यास गर्न सकिने सन्देश दिएको छ । कानूनका विद्यार्थीहरूले समाजका वास्तविक श्रमिकहरूको सम्मान गर्दै सेवा र सहयोगको संस्कार विकास गर्नुपर्ने आवश्यकतालाई कार्यक्रमले उजागर गरेको छ ।
विद्यार्थीहरूले “शिक्षासँगसँगै सामाजिक उत्तरदायित्वमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गरेको कार्यक्रमले कानूनको शिक्षा कक्षाकोठामा मात्र सीमित नराखी समाजसेवासँग जोड्नुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन ।