
सल्यान, २ भदौ ।
लगातारको वर्षापछि सल्यानको शारदा नगरपालिका–१४ ढाँरखानीस्थित कालिका आधारभूत विद्यालयको भवनको भित्ता भत्किएको छ । विद्यालयको पाँचकोठे भवनको बीच भागको भित्ता भत्किएपछि दुईवटा कोठामा क्षति पुगेको छ भने बाँकी भवनसमेत जोखिममा परेको छ । भवन भत्किएपछि विद्यालयको नियमित पठनपाठन प्रभावित भएको छ । शनिबार राति परेको पानीका कारण पुरानो तथा जीर्ण भवनको भित्ता भत्किएको विद्यालयले जनाएको छ । वर्षौंदेखि मर्मत तथा पुनर्निर्माणको पर्खाइमा रहेको भवनको भित्ता भत्किएपछि विद्यालय प्रशासनलाई विद्यार्थीलाई सुरक्षित राख्दै कक्षा सञ्चालन गर्न चुनौती थपिएको छ ।
विद्यालयमा हाल दुईकोठे र पाँचकोठे गरी दुईवटा भवन छन् । पाँचकोठे भवनको भित्ता भत्किएपछि कक्षा २ सञ्चालन हुँदै आएको कोठा प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ । त्यहाँ रहेका विद्यार्थीलाई अर्को कोठामा सारिएको प्रधानाध्यापक तेजबहादुर कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कक्षा १ र बालकक्षामा अध्ययनरत विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । कक्षा ३ र विद्यालयको कार्यालय भने जोखिमपूर्ण बनेकै भवनबाट सञ्चालन भइरहेका छन् । दिवा खाजाका सामग्री राख्ने कोठासमेत प्रभावित भएको छ ।
‘शनिबार रातिको पानीले विद्यालयको भित्ता भत्कायो, तत्काल मर्मतसम्भार गर्ने अवस्था छैन, विद्यालय २०५३ सालमा स्थापना भएको हो, भवन पनि पुरानो र जीर्ण भइसकेको छ’ प्रधानाध्यापक कँवरले भन्नुभयो ‘नयाँ भवन निर्माणका लागि पहल गरिएको थियो, तर बजेट पर्न सकेन, अहिले पुरानो भवनसमेत भत्किएको छ, अभिभावकसहित बैठक बसेर मर्मत गरेर बस्न मिल्ने अवस्था भए त्यसैअनुसार अघि बढ्छौँ ।’ विद्यालयमा अहिले बालकक्षादेखि कक्षा ३ सम्म २६ जना विद्यार्थी अध्ययनरत छन् । बालकक्षामा ९, कक्षा १ मा ८, कक्षा २ मा ५ र कक्षा ३ मा ३ जना विद्यार्थी छन् ।
विद्यार्थीको संख्या कम भएपछि कुनै समय कक्षा ५ सम्म सञ्चालन हुँदै आएको विद्यालयलाई तह घटुवा गरी कक्षा ३ सम्ममा सीमित गरिएको थियो । विद्यालयमा राहत दरबन्दीका दुई जना, बालकक्षाका एक जना, निजी स्रोतका एक जना शिक्षक तथा एक जना कार्यालय सहयोगी कार्यरत छन् । भवन भत्किएसँगै विद्यार्थीको सुरक्षाको विषय पनि गम्भीर बनेको छ । वर्षा अझै नरोकिएकाले जीर्ण भवनमा थप क्षति हुन सक्ने जोखिम रहेको विद्यालयको भनाइ छ । तत्काल भवनको मर्मतसम्भार वा वैकल्पिक कक्षाकोठाको व्यवस्था नगरे पठनपाठनमा थप समस्या आउन सक्ने देखिएको छ ।
शारदा नगरपालिका–१४ का वडाध्यक्ष प्रकाश पुनले विद्यालयको भवन लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि पुनर्निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था हुन नसकेको बताउनुभयो । ‘विद्यालयको भवन पुरानो र जीर्ण छ, नयाँ भवन निर्माणका लागि नगरपालिकादेखि प्रदेश र केन्द्र सरकारसम्म पहल गरेँ, तर बजेट आउन सकेन’ वडाध्यक्ष पुनले भन्नुभयो ‘मेरो पहुँच नपुगेको हो वा यो विद्यालय बजेट राख्ने प्राथमिकतामा परेन, त्यो भन्न सकिँदैन, वडाबाट मात्रै नयाँ भवन बनाउन सकिने अवस्था छैन ।’

उहाँका अनुसार वडाको वार्षिक बजेटको सिलिङ नै सीमित भएकाले विद्यालयका लागि नयाँ भवन निर्माण गर्न आवश्यक ठूलो रकम छुट्याउन कठिन छ । ‘वडामा जम्मा १५ लाख रुपैयाँको बजेट सिलिङ हुन्छ, यसले समग्र वडाको काम गर्नुपर्छ, नयाँ भवन बनाउन कम्तीमा ४० लाख रुपैयाँ लाग्छ’ उहाँले भन्नुभयो । विद्यालयको भवन जीर्ण हुँदै गएको अवस्थामा समयमै पुनर्निर्माण हुन नसक्दा अहिले वर्षाले समस्या झनै गम्भीर बनाएको उहाँको भनाइ छ । उहाँले तत्काल मर्मतसम्भार गरेर भएपनि विद्यार्थीलाई सुरक्षित वातावरणमा पढाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
‘अब भवनको तत्काल मर्मतसम्भार गर्नैपर्ने अवस्था आएको छ, नयाँ भवनका लागि बजेट आएन, अहिले मर्मत गरेर भए पनि पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायले आवश्यक पहल गरी बजेट विनियोजन गर्नुपर्छ ।’ सानो संख्यामा विद्यार्थी भएपनि विद्यालय स्थानीय बालबालिकाको शिक्षाको आधारका रूपमा रहेको छ । तर जीर्ण भवन, न्यून विद्यार्थी संख्या र पर्याप्त भौतिक संरचनाको अभावले विद्यालयको भविष्यसमेत चुनौतीमा परेको छ ।
स्थानीय अभिभावक र विद्यालय प्रशासनले तत्कालका लागि मर्मतसम्भार तथा सुरक्षित पठनपाठनको व्यवस्था र दीर्घकालीन रूपमा नयाँ भवन निर्माणका लागि बजेटको माग गरेका छन् ।