सल्यानका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवर्द्धन परियोजना लागू हुँदै

सल्यान, १८ कार्तिक ।

सल्यानमा समावेशी शिक्षा प्रवर्द्धन परियोजनासम्बन्धी परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, बल्खु, काठमाडौंको आयोजना तथा फेल्म नेपालको साझेदारीमा सञ्चालित समावेशी शिक्षा प्रवर्द्धन परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो।

सल्यानका सिद्ध कुमाख, कुमाख र दार्मा गाउँपालिकाका २४ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा प्रवर्द्धनसम्बन्धी कार्यक्रम लागू गरिने भएको छ।

सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शेरबहादुर रोका, कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक चन्द, सिद्ध कुमाख गाउँपालिकाका प्रशासन प्रमुख अर्जुन जग चन्द, सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत र दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले परियोजना कार्यान्वयनका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा कोशिसका कार्यक्रम व्यवस्थापक सुरेश भण्डारीले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने फेल्म नेपालका परियोजना संयोजक मनोज यादवले परियोजनाको उद्देश्य, लक्ष्य तथा कार्ययोजनाबारे जानकारी दिनुभएको थियो।

त्यसैगरी तीनवटै गाउँपालिकाका शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधि, शिक्षक र कर्मचारीहरूको सहभागिता रहेको थियो।

परियोजनाले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत तथा सङ्कटासन्न अवस्थामा रहेका बालबालिका, विद्यालयबाहिर रहेका तथा विद्यालयबाहिर हुने जोखिममा रहेका बालबालिका, अभिभावक तथा हेरचाहकर्ता, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्थानीय सरकार तथा शिक्षासँग सम्बद्ध सरोकारवालालाई लक्षित गरेको छ।

परियोजनाको अवधिसम्म कुल १९ हजार ४२६ जना लक्षित वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ। जसमध्ये ७ हजार ४२६ जना प्रत्यक्ष र १२ हजार जना अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। लाभान्वित हुनेमध्ये ५०० जना अपाङ्गता भएका व्यक्ति रहने जनाइएको छ।

परियोजना सन् २०२६ सेप्टेम्बरदेखि २०२९ डिसेम्बरसम्म सञ्चालन हुनेछ। चार वर्षसम्म सञ्चालन हुने परियोजनाले तीनवटै गाउँपालिकाका २४ सामुदायिक विद्यालयमा समावेशी शिक्षाको अभ्यास विस्तार गर्दै सबै बालबालिकाको शिक्षामा समान पहुँच, सहभागिता र सिकाइको अवसर अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

कार्यक्रम सञ्चालन परियोजना संयोजक हरिभक्त तिवारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस