
सल्यान, २९ कार्तिक ।
नेपाल निर्माण व्यवसायी संघ सल्यानको दोस्रो बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा संघका केन्द्रीय सदस्य डिल्ली केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, प्रदेश सदस्य तथा जिल्ला कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकमा सल्यान जिल्लाका निर्माण व्यवसायीहरूले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा निर्माण व्यवसाय सञ्चालनका क्रममा देखिएका कठिनाइका विषयमा विस्तृत छलफल गरिएको थियो । निर्माण व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने, व्यवसायीहरूको हकहित संरक्षण गर्ने तथा आगामी दिनमा संघले अघि बढाउने योजना र रणनीतिका विषयमा सहभागीहरूले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै जिल्लामा निर्माण व्यवसायको वर्तमान अवस्था, व्यवसायीहरूबीच आपसी समन्वय र सहकार्य बढाउने तथा निर्माण क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि संघमार्फत आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको थियो ।
बैठकले संघको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले विभिन्न पदमा मनोनयनसमेत गरेको छ । जसअनुसार प्रवक्तामा धिरज रावत, प्रेस सल्लाहकारमा शिव डाँगी तथा जिल्ला कार्यसमिति सदस्यमा गेदलाल बस्नेत र सन्जु कुमार बुढाथोकीलाई मनोनयन गरिएको छ ।बैठकको सञ्चालन संघका द्वितीय उपाध्यक्ष धिरज रावतले गरेका थिए। बैठकले जिल्लाका निर्माण व्यवसायीहरूको हकहित संरक्षण, समस्या समाधान तथा आगामी दिनमा संघका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा जोड दिएको छ ।