सल्यानको बन्गाडमा भारतबाट आएका नागरिकलाई सिधैँ घर पठाउन शुरु

कोरोनाको जोखिम बढेको स्थानियको भनाई

सल्यान २३, असोज ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा नराखेर सिधै घर पठाउन शुरु गरेको छ । चिसो मौषम सुरु हुन थालेपछि उनीहरुको व्यवस्थापनमा समस्या हुने भन्दै भारतबाट आएका नागरिकहरुलाई सिधैँ घर पठाउन शुरु गरेको हो । अब भारतबाट फर्किएका नागरिकहरु होम क्वारेन्टाइनमा १४ दिन वस्नुपर्ने भएको हो । त्यसको रेखदेख तथा घरमा वसे नवसेको वडाअध्यक्ष, वडासदस्यको निगरानी समुहले अनुगमन गर्ने नगरपालिकाले जनाएको छ ।

यसअघि सल्यानका स्थानीय तहले विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएका थिए । विद्यालयमा रहेका क्वारेन्टिनहरु खालि गरि पठनपाठन सुचारु गर्नुपर्ने भएपछि भारतबाट आएका नागरिकलाई घर पठाउन थालिएको बन्गाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिनु भएको छ । उहाँले उनीहरुको रेखदेख सम्बन्धि वडाका जनप्रतिनिधिले गर्ने बताउनुभयो ।

तर यो निर्णयको भने स्थानीयले चर्को विरोध गरेका छन् । भारतबाट आएका नागरिक लुकिछिपि अहिले पनि नगरले वनाएको क्वारेन्टाइनमा नवसेर आफ्नै घर जाने गरेका छन् । चाडपर्व नजिकिएसँगै भारतबाट नागरिक आउने क्रम झनै वढेको छ । हजारौं मानिस व्यवस्थापन गरेको नगरले फाट्टफुट्ट आउने नागरिकलाई सिधै घर पठाउने कार्यले ठुलो समस्या निम्तिने सरोकारवाहरुको भनाइ रहेको छ ।

यस नगरपालिकामा भारतबाट आएका नागरिकको मात्रै कोरोना चेकजाँच हुन्छ भने समुदायका नागरिकको अहिलेसम्म कुनै चेकजाँच गरिएको छैन । कोरोनाका नाममा करोडौं खर्च गरिसकेको स्थानीय तहले अब भने खर्च वढि भएको भन्दै थेग्न नसकिने जनाएको छ । भारतबाट आउने नागरिक सिधै घर जाने भए पछि अब अवस्था खतरा हुन सक्ने स्थानियको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस