जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधा भन्दा सास्ती धेरै

सडकको स्तरोन्नतीको लागी बहुबर्षिय ठेक्कामा लैजाने तयारीः मन्त्री ज्वाला

सल्यान २५, कात्तिक ।
राप्ती लोकमार्गअन्तर्गत दाङ-­सल्यान­-रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको कालोपत्रे उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो । तर टालटुल गरिएको उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ । अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्रे उत्रिएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ । कालोपत्रे उप्किएपछि सडक धुलाम्मे र हिलाम्मे बन्दै गएको छ ।

स्थानिय लाल बहादुर खत्रीले दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानियलाई सास्ती भएको बताउनुभएको छ । उहाँका अनुसार दाङ–सल्यान खण्डको राम्रीदेखि शीतलपाटी र शीतलपाटीदेखि खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । ‘सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ,’ उहाँले भन्नुभयो ‘सडक पूर्णरूपमा पिच भए तुलसीपुरदेखि सल्यान खलंगा आउन बढीमा डेढ घन्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घन्टा बढी समय लगाउने गरेका छन् ।’

गाडी चालक समेत रहनुभएका उहाँले थप्नुभयो ‘सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ ।’ बर्षातमा हिलो र हिउदँमा धुलोका कारण नागरिकले सास्ती पाउदाँ पनि सम्वन्धित निकाय मौन रहेको उहाँको गुणासो छ ।

यातायात ब्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताउनुभएको छ । ‘जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यतिकै मात्रामा रहन्छ’ उहाँले भन्नुभयो । सडक मर्मतको नाममा करोडौं रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको उहाँको भनाई छ । तर सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उहाँको दुखेसो छ ।

दुर्घटनाको जोखिम उच्च
अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जिर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज,प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिनुभयो । राप्ती लोकमार्गमा थुप्रै गाडि दुर्घटना हुने गरेका छन् ।

विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । २०६३ सालमा सल्यानको भाण्टाखोलामा गाडि दुर्घटना हुँदा झण्डै ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै २०७५ सालमा राम्रीमा स्कुल बस दुर्घटना हुदाँ २२ भन्दा बढीको मृत्यू भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म १ सय ६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । जसको दाङ क्षेत्रमा सडकको अबस्था सन्तोजनक नै भएपछि सल्यान खण्ड र रुकुम खण्ड जिर्ण बनेको छ ।

डवल कटिङ सहितको मर्मतको काम शुरु हुदैछ : सडक डिभिजन कार्यालय
सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतीको लागी आबश्यक प्रक्रिया अगाडी बढाएको जनाएको छ । कार्यालयका प्रमुख निरज शाक्यले ठेक्का ब्यवस्थापनको काम भैरहेको र २ प्याकेजमा काम अगाडी बढाउने तयारी भैरहेको जानकारी दिनुभयो । उहाँले चोरखोला देखी सितलपाटी सम्म र सितलपाटी देखी मुसीकोट सम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिनुभयो ।

‘शितलपाटी मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोला देखी शितलपाटी सम्मको लागी ठेक्का ब्यवस्थापनको काम भैरहेको छ, डवल कटिङ सहित सडकको स्तरबृद्धि गरिन्छ’ उहाँले भन्नुभयो । उहाँका अनुसार चोरखोला­सितलपाटीको लागी रु.१५ करोड विनियोजन भएको छ भने शितलपाटी­मुसिकोटको काम रु.४ करोड ९५ लाखमा शुरु गरिएको छ । चोरखोला­सितलपाटी सडकको ठेक्का प्रक्रिया अगाडी बढाएको बताउदैँ बहुबर्षिय आयोजना अन्र्तगत काम गरिने उहाँले जानकारी दिनुभयो ।

सडकको स्तरोन्नतीको लागी बहुबर्षिय ठेक्कामा लैजाने तयारीः मन्त्री ज्वाला
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जिर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतीको लागी पहल भैरहेको जानकारी दिनुभयो । उहाँले अबको केही समयमा नै ठेक्का प्रक्रिया शुरु गरेर कामको थालनी गरिने जानकारी दिनुभयो । यसका लागी वजेट सुनिश्चित भैसकेको उहाँको भनाई छ ।

‘कर्णाली र लुम्वीनी प्रदेशलाई जोड्ने मूख्य मार्गको रुपमा रहेको राप्तीलोकमार्गको स्तरोन्नतीको लागी बिगत देखी नै पहल गर्दै आएकोछु, आर्थिकबर्ष २०७५/०७६ मा सल्यान­दाङको सिमाना देखी सल्यान तर्फको सडकको स्तरोन्नती गर्नको लागी २ प्याकेजको लागी करिब ४९/४९ करोड सुनिश्चित भएको थियो, तर एउटा टेण्डर भएर पनि रद्ध भयो, अर्को टेण्डर नै हुन सकेन्’ उहाँले भन्नुभयो ।

गत बर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुबर्षिय ठेक्कामा लैजानको लागी वजेट कम भएकाले समस्या भएको उहाँको भनाई छ । मन्त्री ज्वालाले यस बर्ष वजेट सुनिश्चित भएकाले बहुबर्षिय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनको लागी सडक डिभिजन कार्यालयले टेण्डर आह्वान्न गर्ने बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस