प्रचारप्रसारको अभाव : पर्यटक पर्खदैँ शातामुल

‘शातामुलले जिल्लास्तरको पहिचान र स्थान अझै पाउन सकेको छैन, यसको मुख्य कारण भनेकै योजनाबद्ध प्रचारको अभाव हो, राप्ती राजमार्गको सोलाबाङ वा टुनीबोटको सडक भएर यहाँ आउन सकिन्छ तर स्तरीय सडक नबन्दा पनि समस्या भएको हो’ वडाअध्यक्ष समेत रहनुभएका बोहोराले थप्नुभयो ‘स्थानीयले मात्रै यसको प्रवद्र्धन गर्न सकिएको छैन् ।’


सल्यान, २९ असार ।
सल्यानको कपुरकोट गाउँपालिका–६ सिन्वाङस्थित शातामुल धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो । कृत्रिमता रहित हरित दृश्य, कलकल बग्ने शीतल मुहान, शान्त वातावरण र आस्था संगै रमाइलोको संगम भएको यस स्थानको चर्चा भने अपेक्षित रूपमा भएको छैन् । प्रचारप्रसारको अभाव, योजनाको अभाव र सरकारको दृष्टिकोण अझै स्पष्ट नहुनुले गर्दा शातामुल आज पनि पर्यटकको पर्खाइमा बसिरहेको छ ।

शातामुल क्षेत्र हिन्दू धर्मालम्बीहरूको लागि विशेष आस्था राख्ने स्थल हो । यहाँ रहेका ऐतिहासिक मन्दिरहरू, मूर्तिहरू तथा पुराना धारा आदिले यस स्थानको धार्मिक पृष्ठभूमिलाई अझ गहिरो बनाएका छन् । विशेषगरी यहाँ पुराना मन्दिर, मुर्ती, पिपलका रूख र मुहानसँगै धारा छन्, जसलाई स्थानीयहरूले अत्यन्तै पवित्र मान्छन् । यही आएर वर माग्ने, पूजाआजा गर्ने र मनोकांक्षा पूरा हुने विश्वासले श्रद्धालुहरू आउने गरेको पाइन्छ ।

धार्मिक दृष्टिले शातामुल केवल पूजाआजा गर्ने स्थान मात्र होइन, बर माग्ने, पर्यटकीय आनन्द लिने, रमाउने र वनभोज गर्ने स्थल पनि बनेको छ । यहाँ आउनेहरूले केही समय प्रकृतिसँग रमाउने र शान्त वातावरणमा आत्मिक सन्तुष्टि अनुभव गर्ने मौका पाउँछन् । यो स्थललाई पर्यटकीय दृष्टिले अझ व्यवस्थित गर्न सकियो भने धार्मिक पर्यटनसँगै पारिवारिक पर्यटनको केन्द्र बन्दै जाने बलियो सम्भावना छ ।

शातामुलको प्राकृतिक दृश्यावलोकन साँच्चिकै मनमोहक छ । चारैतिर हरियाली, चिसो हावाले सुसाउने वातावरण र वरिपरिका डाँडाकाँडा तथा जंगलले गर्दा यो स्थान आत्मिक सन्तुलन खोज्नेहरूको लागि उपयुक्त स्थान हो । यहाँ वर्षभरि अविरल रूपमा बग्ने शीतल पानीको मुहान रहेको छ, जसले यहाँको हरियाली र रमणीयता थप बढाएको छ । वनस्पति तथा जैविक विविधताले पनि यो क्षेत्रलाई अध्ययन तथा अनुसन्धानको दृष्टिले महत्वपूर्ण बनाएको छ ।

यस्तो सम्भावनायुक्त क्षेत्रको संरक्षणका लागि हाल केही प्रयासहरू थालिएका छन् । सरकारी पहल र समुदायको अग्रसरतामा शातामुल क्षेत्रमा बाटो विस्तार, सरसफाइ तथा पूर्वाधार निर्माण जस्ता कामहरू अघि बढाइएका छन् । तर, यी प्रयासहरू अझै पनि प्रर्याप्त नभएको स्थानीय बताउँछन् ।

संरक्षण र प्रचारप्रसारको आवश्यकता

शातामुल मन्दिर व्यवस्थान तथा संरक्षण समितिका अध्यक्ष श्यामकृष्ण बोहोराले यसको दिगो व्यवस्थापन र प्रचारप्रसार नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ । ‘शातामुलको दिगो विकासका लागि केवल संरचनात्मक काम मात्र होइन, यसको पहिचानलाई बाहिरी संसारसम्म पु¥याउने प्रचारप्रसार पनि आवश्यक छ, जबसम्म यस क्षेत्रका बारेमा बाहिरका पर्यटकलाई जानकारी हुँदैन, तबसम्म यसको वास्तविक मूल्य मान्य हुन सक्दैन्’ उहाँले भन्नुभयो । स्थानीय सरकारको लगानीमा पोखरी, सप्तधारा, फिल्ड, घेरवार तथा संघीय सरकारको लगानीमा पुल, पर्खाल, बाटो, बगैँचा लगाएतका संरचना निर्माण गरिएको छ ।

करिब एक करोड रुपैँया बढी लगानी गरेर शातामुलमा विभिन्न संरचना निर्माण गरिएको भएपनि यसको प्रचारप्रसारमा खासै ध्यान जान नसकेको उहाँको भनाइ छ । ‘शातामुलले जिल्लास्तरको पहिचान र स्थान अझै पाउन सकेको छैन, यसको मुख्य कारण भनेकै योजनाबद्ध प्रचारको अभाव हो, राप्ती राजमार्गको सोलाबाङ वा टुनीबोटको सडक भएर यहाँ आउन सकिन्छ तर स्तरीय सडक नबन्दा पनि समस्या भएको हो’ वडाअध्यक्ष समेत रहनुभएका बोहोराले थप्नुभयो ‘स्थानीयले मात्रै यसको प्रवद्र्धन गर्न सकिएको छैन् ।’

शातामुल क्षेत्रको विकासका लागि स्थानीय बासिन्दाहरू निकै उत्साहित देखिन्छन् । उनीहरूले आफ्नै प्रयासमा बाटो बनाउने, सरसफाइ गर्ने तथा श्रद्धालुहरूको सुविधाका लागि केही संरचना बनाउने काम थालेका छन् । तर उनीहरूका सामथ्र्य सीमित छन् । बोहोराले थप्नुभयो ‘प्रदेश र संघीय सरकारसँग समन्वय गरेर शातामुललाई एक प्रमुख धार्मिक तथा इको–टुरिज्म गन्तव्यको रूपमा विकास गर्न आवश्यक छ, यति मात्र होइन, यहाँ अध्यात्मसँगै साहसिक पर्यटनको पनि सम्भावना देखिन्छ, नजिकैका जंगल, डाँडाहरू, र सुरम्य पदमार्गहरूले ट्रेकिङ, क्याम्पिङ लगायतका गतिविधिहरू संचालन गर्न सकिने प्रचुर सम्भावना बोकेको छ ।’

शातामुलमा हरेक बर्षको माघ १ गते भब्य मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस