रातमा चन्द्रमा छाए जस्तै बिच्छाइएको Bed cover ले अनौठो मुद्रामा बकबकायो कि तेरा सपनाहरु मेरो शरिरको फोहोरसंगै साबुनको फिजमा अन्तरघुलित भएर नालासम्म पुगिरहेछन् । नालासम्म त तैंले तेरो बास्तबिकतालाइ पुर्याउनु पथ्र्यो । नालासम्म त तैंले तेरो रहरलाइ पुर्याउनु पथ्र्यो । मुटु नभएको मुटुलाइ पुर्याउनु पथ्र्यो ।
Bed cover मुनिको डसनाले उसैलाई साथ दिंदै सोध्यो ‘तेरो सपनाको रङ कस्तो छ ? कहिलेसम्म सपना खन्ने कोदालीले तेरो मस्तिष्कमा खाडल खन्छस ? के त्यो मस्तिष्कमा खनिएको खाडलमा मात्रै तेरो सपना अट्छ त ?’ जोड्तोड्ले कराउंदै उस्ले थप्यो ‘तँ पल्टिए जस्तै म भित्रका कपासका भुवांहरु कैदि बनेर पल्टिएका छन् । धाकले भरिएको धागो आज झ्यालखाना बनेको छ । लाज ढाक्ने कपडा आज मेरो खोल बनेर तेरो लाज हेरेर बसेको छ ।’
डसना बोलिसक्काउंदा नसक्काउंदै कोठा देशको राजा पलङ नि मलाई औंला ठड्याउन थाल्यो र हिट्लरे स्वर भावमा प्रकट भयो । मेरो इतिहास गौरवमय छ । बर्तमान खेदजनक छ । हिजो युवा जोस भरिएको हावालाइ नचाउनु देब्रे हातको कान्छी औंलाको कौशल थियो । चरा किराको लागी प्रत्यक पातहरु रेस्टुरेन्ट र सम्भोगालय थिए । मेरो छहारी dating office थियो । खै र आज प्रत्येक अङ्गहरु बलात्कृत छन् ।
खुट्टा फ्ल्याटले, ढाड डसनाले, काँध भित्ताले, टाउको सिरानीले र यस्तै यस्तै …
हातमा बिपना फ्लेवरको हुक्का लिंदै अझैं थप्यो, के तं पनि सपनाको बलात्कृत घाइते होस् ? के तलाइ हरबार प्राताडित गर्ने सपनाको हत्या गर्न मन छैन ? नामुद किलर बन्ने हिम्मत छैन ? यदि छैन भने तं मान्छे बन्ने ताकत राख्दैनस । तं अमान्छे होस अमान्छे ।
घाटमा दाउराको पत्रपत्रको बिचमा बिच्छाइएको लास जस्तै चिर निद्रामा हराएको म Bed cover , डसना पलङ र सिरकको दवाबपुर्ण सभाले बहुलट्ठ बनायो । यस्तो लाग्न थाल्यो कि म भट्टिपसलमा चिया पिउंदै छु र चिया पसलमा भोड्का । तिनिहरुका प्रत्येक प्रश्न अनुत्तरित छन् । प्रत्येक उत्तर अप्रश्नित छन् । मेरो मौनताले पनि हिनताबोध गरिरहेको छ कि म संग किन उत्तर छैन र किन प्रश्न छैन भनेर ।
मेरो नजरमा नजर जुधाउंदै सिरक फेरि आफ्ना तर्क कुतर्कले माहोल उद्वेलित पार्न खोजिरह्यो जसरी लासलाइ कात्रोले प्रश्न गर्छ । तेरो सपनाको परिभाषा के ? सपनाको अस्तित्व के ? आयु कति ? अवधि कती ? आफ्नो अस्तित्व निमिट्यान्न भैसकेपछी के अर्थ प्राप्तीको ?
यस्ता हजारौं प्रश्नहरुको थुप्रोले मलाई मात्र होइन नसानसाहरु समेत थिचिन थालिसके । कोठा समेत एटम बम बनिसक्यो । हातहातमा इन्क्लाबका नारा गुन्जिन थालिसके । हेर्दाहेर्दै Bed cover मेरो मृत्युको सेकेन्ड गणना गर्न थालिसक्यो । सिरक म संगै मेरो सपनाको कात्रो बन्ने घोषणा गर्न भ्याइसक्यो । पलङ मसानघाट बन्ने घोषणा गर्न भ्याइसक्यो । फोक्सो र उस्को स्वास पनि अन्तरघात गर्ने निर्णयमा पुगिसके ।
तर अझैसम्म म अनुत्तरित छु कि मेरो सपना मोह यत्ती धेरै किन ? अनि तिनीहरुको आपत्ती ? आखिर लक्ष्य त लक्ष्य हो नि । चाहे दुर होस चाहे अदुर होस । चाहे सानो । चाहे ठूलो । चाहे परिभाषित चाहे अपरिभाषित ।
एक्कासी भित्तामा मृत्युदण्ड खेपिरहेको घडिले मेरो समर्थन जनाउंदै कोलाहलको अन्त्य यसरी गरिदियो कि सपना–सपना होइन यो त अक्ष हो । घुम्दै घुम्दै फेरि त्यही ठाउंमा पुर्याउने जसरी मेरा प्रत्येक सुइ हिडिरहन्छन ।
अझैपनी ती bed cover, सिरक, पलङ छट्पटी मै छन् । मेरो सपनामोह देखी अनि प्रश्न सहितको चिच्याहट अबिराम छ ।
भोलीपल्ट फेरी बिहानै हातमा केही बिश्वासका लठ्ठी समाउंदै केहिथान सपनाहरु एथार्थको झोलामा रोपेर सपनाहरु नै खोज्न प्रत्येक गुनासाहरुको ब्यवास्ता गर्दै म सलामी यात्रामा निक्लिएं ।
लेखकको घर छत्रेश्वरी गाउपालिका वडा नं. ५ सल्यानमा पर्दछ ।