एउटा चिट्ठी बैंक खातालाई

[ कविता ]

प्रीय बैंक खाता
यो बर्ष तिम्रो लागि एउटा खबर छ
अघिल्ला बर्षहरु जस्तो डराउनु पर्दैन
हात्ती, बाघ, गैंडा सब्बै राष्ट्रिय निकुञ्जमा सुरक्षित छन्
हात्ती धपाउने माउते एटिएम पर्समा मस्त निद्रामा छ
तिमीलाई भेट्न देहत्याग्ने चेक टेबलमा ताली बजाउंछ ।
त्यसैले खुसी भएर दशारहित दशैं मनाउ ।

0000

तिमीलाई न्यास्रो नलागोस भनेर केही थान चौंरीहरु
अनि केही थान जरायोहरु बन्धकी छोडिदिएको छु
हात्तीसार, गुफाहरु र पाटनहरु महिनौं लगाएर गोडिदिएको छु
कि फेरि अपहरीत छावा, डमरु र केटोहरु फर्किआउन्
र तिमीहामी संगै दशैं तिहार मनाउन् ।

0000

आँखा नखुलेका बाहरु माटोमा लाखौं हात्ती गैंडा जन्माउंछन्
हंसिया हलो रुखका कुरामा मस्त रमाउंछन्
आँखा खुल्यो भन्ने छोराहरु हात्तीहरु खोज्दै सहर बरालीएका छन्
दिनहुँ हरियो घाँस ख्वाएर पालेको हात्ति महिनासम्म
घर नआउंदा अत्तालिएका छन्
सायद तिनीहरु धुर्बेको कब्जामा हुनुपर्छ ।

0000

प्रीय बैंक खाता
तिम्रो हितैसीहरुको कृपाले धुर्बेहरुको पेटमा बोसो बढेको छ
ज्यान बनेको भ्रमले आज मस्त छन्
कानमा तेल राखेर निदाउन ब्यस्त छन्
सुनाइदिनु स्वास्थ्य सम्बन्धी खबर कि
बोसो बढेसंगै रक्तचाप पनि बढ्नेछ
र हिजो साथ दिनेहरुको हात छोड्नुपर्ने कहर आउनेछ ।

0000

प्रीय बैंक खाता
हुन त यो कार्ल माक्सले न्युयोर्कको कल्पना गर्ने युग हो,
बिल गेट्सले क्यूवा कल्पना गर्ने युग हो
र सहरहरु श्रम कारखाना हुन्
जहाँ श्रम भन्दा धेरै श्रवण बेचिन्छ र खनिन्छ अविनाश बंकरहरु
त्यसैले तिमिलाइ चिट्ठी लेख्नपनि बेलाबेलामा झस्किने गर्छु ।

0000

 

 

प्रतिक्रिया दिनुहोस