सल्यान २ कार्तिक
चलचित्रसम्बन्धी अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आइतबारबाट क्याम्पस सञ्चालनमा आएको हो ।
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी यही शैक्षिक सत्रबाट चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रधानाध्यापक शिशिर उप्रेतीले बताउनुभयो ।
काठमाण्डौको बानेश्वरमा रहेको क्याम्पस प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक उप्रेतीले क्याम्पसले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभइ दक्षिण भारतीय तथा विदेशी विधार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
यस अघि फिल्म अध्ययनका लागि नेपालमा एउटा मात्र क्याम्पस भएकाले यस पटकदेखि आफूहरुले पनि सुविधा सम्पन्न फिल्म क्याम्पस सञ्चालनमा ल्याएको उप्रेतीले भन्नुभयो ।