दुर्गेश थापाको देउसी गीत विवादमा

 

‘बीच्च बीच्चमा’ बोलको तिजगीतबाट चर्चामा आएका गायक दुर्गेश थापाको पछिल्लो ‘देउसी गीत’ विवादमा परेको छ । गीतका केही शब्दहरुलाई लिएर धेरैले आलोचना गरेका छन् ।

१० दिन अगाडि मात्र युट्युबमा अपलोड गरिएको गीतले अहिलेसम्म १७ लाखभन्दा बढी भ्यूज पाएको छ । ५० हजारले लाइक गरेका छन् । डिस्लाइक संख्या ५ हजार ८ सय छ । टिकटकमा पनि गीत निकै चलेको छ ।

यसका बाबजुद युट्युबमा अत्यधिक नकारात्मक कमेन्टहरु आएका छन् । गीतका शब्दहरुले ‘देउसी’ लाई विकृत बनाएको र रक्सीको खुलेआम प्रचार गरिएको तर्क आलोचकहरुको छ । हुन पनि गीतले देउसीलाई मोर्डनाइज गर्ने नाममा बढी नै उछृङ्खलता प्रदर्शन गरिएको छ । म्युजिक भिडियो हेर्दा बियरको विज्ञापनजस्तो देखिएको छ ।

नकारात्मक प्रतिक्रियाहरु धेरै आएपछि दुर्गेशले शुक्रबार युट्युबमा कमेन्ट नै ‘टर्न अफ’ गरिदिएका छन् । बिहीबारसम्म देखिएका हजारौं प्रतिक्रिया शुक्रबार एउटा पनि देखिँदैनन् भने नयाँ कमेन्ट लेख्न पनि मिल्दैन ।

र्‍याप शैलीमा यो देउसी गीत तयार पारिएको छ । गीतको मेलोडीले युवाहरुलाई छुन्छ । दुर्गेशको गायकीमा पनि निकै मिहिनेत झल्किन्छ । तर, केही शब्दमा चुक्दा उनको मिहिनेत ओझेलमा परेको भान हुन्छ ।

‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ भन्दै गीत सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस