यदी मेरो बुवा भएको भए … !

बिचार

आजभोली ! जव म खुसी हुन्छु, पत्रकारिता गर्छु, जीवनमा नयाँ कामको थालनी गर्छु, सफलता हासिल गर्छु, घरमा जान्छु, परिवारसंग बस्छु, कोठाको भित्तामा झुण्डिएको बुवाको फोटो हेर्छु, नयाँ साल आउँछ, सोह्र साद्ध आउँछ, बुवाको तिथि आउँछ या बाबुको मुख हेर्ने दिन आउँछ, मेरो मनमा अनेक कुराहरु खेल्न थाल्छन् । मन भारी हुन्छ । एक्लै भएको आभास हुन्छ ।

000
दिमागमा मेरो बुवाको अनुहार झलझल्ती आउँछ । बुवासँगका यादहरू कता–कताबाट दिमाग भित्र छिर्छन् । सानो छदाँ बुवाको काखमा बसेका ती दिन सम्झिन्छु, मकैँ भटमास बुवाले चपाएर मलाई खुवाएको दिनको याद आउँछ, जात्रा हेर्न होस् या छिमेकीको घरमा भएका बिहे पुजामा होस्, बुवाको चोर औँला समाएर सँगै गएको याद आउँछ । अनि मनमा एउटा भिन्दै खाले पीडावोध हुन्छ ।

000
अनी म सोच्छु, मेरो जीवनको अभिन्न अंग भर्खरै म बाट चुँडिएर हावामा तैरिँदै टाढा–टाढा हुँदै गइरहेको छ । म त्यसलाई समात्न खोज्छु, तर त्यो कतै क्षितिजमा पुगिसकेजस्तो देखिन्छ । तर, त्यो हराएको हुँदैन, मेरै वरिपरि घुमिरहेको हुन्छ । म यस कुरामा यकिन छु कि, मेरो दिमागमा चलिरहेका यीमध्ये धेरै सोचाइ भ्रम मात्र हुन् । यस्ता दिन वरिपरिका रातमा बुवाकै सपना देखिन थाल्छ । अनि तुरुन्तै त्यो रातको साढेँ ११ वजेलाई सम्झन्छु, जुन रातमा बुवाले संसार छाड्नुभएको थियो ।

000
हुन त सबैका बुवासँग सबैका उस्तै स्मृति होलान् । मेरो कुनै नौलो पनि नहोला । मेरा लागि बुवा मेरो प्रेरणा हुनुहुन्थ्यो । जीवन हुनुहुन्थ्यो । संसार हुनुहुन्थ्यो । मेरो सर्वस्व हुनुहुन्थ्यो । बुवा बित्दा म १३ बर्षको थिए होला । घरमा आमा, ४ जना दाइभार्ई, २ वटी बहिनी, भाउजु र भतिजी थिए । तर एउटा दाई घरमा हुनुन्थेन्, उहाँ परदेशमा हुनुहुन्थ्यो । म सानै थिए । घरमा पनि सबैको प्यारो थिए । पढाई पनि राम्रो थियो ।

जव म मेरो भविष्य खोज्दै अगाडी बढे, अनि पल–पलमा बुवाको अभाव खड्किन थाल्यो । म अझैँ सोच्छु, मेरो बुवा भएको भए आज म कहाँ पुग्थेँ होला ? सानो छदाँ रुनु भनेको आँसु झार्नुलाई सम्झिन्थेँ, तर अहिले लाग्छ जीवनमा रुनु भनेको आँशु झार्नु मात्रै होइन रहिछ । मैले बुवा बितेपछिका अप्ठ्यारा परिस्थितिलाई आँशु बिम्ब दिएको छु ।

अझै पनि मलाई बुवा बितिसकेपछिको समय र उब्जिएको परिस्थितिले साह्रै असहज बनाएको छ । म मेरो बुवाले संसार छोडेको रातको बारेमा लेख्दै छु, जुन रातमा बुबाले संसार छाड्नुभएको थियो ।

000
लेखपोखरामा मेरो घर । सानो थियो । खरले छाएको घर । बिगत देखी हाम्रै भाई सन्तानका कारण हामी छिमेकी–छिमेकीमा त्यती राम्रो सम्बन्ध थिएन् । म यो बारेमा लेख्न खोजिन् । हाम्रो परिवार धुमधुमेमा बस्थ्यौँ । बुवामा पहिले देखी नै दमको समस्या थियो । तर उहाँ जाँडरक्सी, चुरोड बिडी केही पनि सेवन गर्नु हुदैन्थ्यो । पारिवारिक सुख खोज्दै माइलो दाई परदेश लाग्नुभयो । बुवामा केही अस्वस्थता बढेपछि जेठो दाईले श्रीनगर, खलंगा, नेपालगन्ज हुदैँ भारतको लखनउ सम्म लिएर उपचार गर्नुभयो ।

000
करिब ६ महिनाको उपचार पश्चात बुवा निको भएर घर फर्किनुभयो । घरमा सबै थियौँ । पुस २३ गते रातको कुरा हो । सबैले सँगै खाना खायौँ । आमा बुवा, भाउजु, भाइबहिनी सबै सुते । हामी तीन भाई घर छाउनको लागी बाबियाको डोरी बनाउदैँ थियौँ । रातको ११ वजेको थियो । आमा.. हतार गर्दै हामीलाई बोलाउँनुभयो । बुवालाई गाह्रो भयो ।

हामी हत्तपत्त भान्सा कोठामा गयौँ । बुवा दमको बिरामी हुनुहुन्थ्यो, हामी त्यहाँ जाँदा बुवाको श्वासप्रश्वास यति छिटो–छिटो भैरहेको थियो कि चैँत बैशाखको हावाहुरीको वेग जस्तै । चुलोको छेउमा बुवा हुनुहुन्थ्यो । बुवालाई लड्न नदिनको लागी आमाले समाउनुभएको थियो । तर बुवा बस्न सक्ने र बोल्न सक्ने अबस्थामा हुनुहुदैन्थ्यो ।

रातको समय । कठ्याग्रिंदो जाडो थियो । १०/१५ मिनेट पछि बुवा केही बोल्नुभयो : ‘मलाई केही हुदैँन, मलाई अढेँस लगाई देउँ ।’ कम्मल र सिरानीलाई अढेँस वनाएर मैले समाते । बुवा त्यसैमा अढेँस लाग्नुभयो । उहाँको श्वासको गति बिस्तारै कम हुदैँ गयो । मानौँ : ‘भरिएको बलको हावा फुस्किए जस्तै ।’ बिस्तारै उहाँको श्वासप्रश्वासको गति कम हुदैँ–हुदैँ गयो । र…. अन्तत : बन्द भयो । हामी आत्तियौँ, बुवा भन्दै बोलायौँ, करायौँ, तर अहँ…. उहाँ बोल्नुभएन् । किनकी उहाँको भौतिक शरिर मात्रै हाम्रो सामु थियो ।

000
मलाई अहिले पनि बेला बखत अपत्यारिलो लाग्छ त्यो घटना । बुवा, यतै कतै पो हुनुहुन्छ कि ! उ बेला सानो छदाँ बुवासँगका स्मृतिहरु खासै याद आएन् । तर बुवा हाम्रो साना उपलब्धिमा पनि हामीभन्दा धेरै खुसी भइदिनु हुन्थ्यो । हुन त हरेकका बाआमा उस्तै हुन्छन्, आफ्नो दुःख नदेखाई छोराछोरीका इच्छा पु¥याइरहने ।
घरपरिवारको माया र साथले म अहिले पत्रकारिता गर्छु । सबैबाट राम्रै प्रेरणा मिलेको छ । अहिले पनि म बुवालाई खोज्छु, सायद अहिले ‘बुवा हुनुभएको भए परिवारसँगै कति खुसी हुनुहुन्थ्यो होला ?’

000
म यहाँ सम्म आउदाँ सबैको माया पाए, साथ पाए, हौसला पाए । सत्कर्ममा हिड्नुपर्छ भनेर सिकाउने धेरै बुवाहरु भेटाए । तर मलाइ जन्मदिने, संसार देखाउने, बुवा…. हजुरले संसार त्यागे पछि कयौँ पटक हजुरलाई खोजे तर अझै भेटाउन सकेको छैन् ।

000
यदि आँसुले स्वर्गको भ¥याङ बन्दो हो त,
म भेट्थेँ बुवालाई र भन्थेँ : आउनुस् बुवा, हजुरको औंला समाएर म फेरि हिँड्न सिक्छु !

 

 

 

प्रतिक्रिया दिनुहोस