रातभरीको झरीले गर्दा होला बिहानीपख बादलको अल्ली धेरै मनपरी थियो । डांडापाखाहरु मध्यपुस तिर मैले ओढ्ने बाक्लो शिरक ओढेर सुतीरहेका देखिन्थे । अक्सर परिवारमा पनि कि त बुढा मान्छे सबेरै उठ्छन कित बच्चाबच्ची । उत्तर आधुनिक युगका वयस्कहरु उठ्ने भनेको त घामको बैँस छिप्पीसके पछी मात्र हो । भंगेराहरु पनि त्यो दिन घाम उठ्नु भन्दा, पहाडहरुले सिरक थन्क्याउनु भन्दा धेरै अगाडी उठिसकेका थिए । भंगेराका बचेरा त अझैं अगाडी उठेर आफ्ना बाआमालाइ ब्रेकफास्ट, ब्रेकफास्ट ब्रेक… फास्ट … भन्दै आन्दोलन चर्काइरहेका थिए । उत्तर : आधुनिक युगका भँगेरा हुन् नि त । पहिले खरको छानोमा खोर हुन्थ्यो । अहिले टिनको छानो या फलामको पाइपको प्वाँलमा अपार्टमेन्ट हुन्छ । त्यसैले पंक्षीहरु पनि post-Modernism को प्रभावमा छन् ।
000
आफु पनि कुनै बखत भँगेराका बचेराहरु जस्तै गरीन्थ्यो र एक्लै एक सय भँगेरा बराबरको एकतर्फी आन्दोलन मच्चाइन्थ्यो । दु …. ध …. दुध …. गौंको रोटी …. गौंको …..रोटी … चि …. नी, चि ….नी, चिनी …. यस्तै यस्तै । एकमाना अट्ने बटुको भरी दुध, पुर्णिचन्द्र जस्तै ताजा अनि मिट्ठो रोटीको सम्बोधन आमाबाट हुन्थ्यो । बा टोकरीबाट मुठ्ठीभरी चिनी लिएर दुधको बटुकोमा खन्याउंदै भन्नू हुन्थ्यो ‘यत्ती है आजलाइ, अब सक्यो, भोलि फेरि के खाने’ म खुरुरु दौडेर चिनी राखेको भाँडो देखाउंदै ‘यी यत्ती धेरै चिनी कस्ले खान्छ कमिलाले ?’ भनेर अझ धेरै थप्न व्हिप लगाउथें । बा को मन न हो चिनी भन्दा गुलियो हाँसोले मेरो जिद्दी स्विकार्दै थपिदिनुन्थ्यो । सायद यस्तै केही चल्दैथियो होला भँगेराको अपार्टमेन्टतिर पनि ।
000
वारीको घरको कौशीमा हातमा मोबाइल थमाएर बिराजमान थिए । मेरोलागी मोबाईल समाउनु अनि आँखा र हातका औंलाहरुलाई रोजगारी दिनु सिवाय अरु कुनै काम थिएन किनकी संसारले लकडाउन झेली रहेको थियोे । लकडाउन भन्नु त बहाना मात्र हो, म जस्ता हरीलन्ठुकको काम नै सधैं मोबाइल र ईन्टरनेटलाई बलात्कार गर्नु हो ।
000
पारी घरको छानोको एउटा पाइपको प्वाँलमा भँगेराहरु र बचेराहरुका बिचमा आन्दोलन जारी छ । सायद घरका मालीकमालिक्नीहरु त्यहाँ हुदाहुन त अहिलेसम्म भँगेराको अपार्टमेन्ट आतंककारी हमलाले सर्वनास गरीसकेको हुन्थ्यो । तिनीहरुको चिर्बिराहट सुनेर कता कता दिमागमा एउटा बहुलट्ठ जुक्ति फुर्यो ।
मोबाईलबाट भँगेराकै आवाज बजाइदिने र तिनीहरुको प्रतिक्रिया बुझ्ने । केही क्षणसम्म मोबाइलकै आवाज अल्ली ठूलो आवाजमा भँगेराको आवाज बजाएं । त्यही आवाज सुनेरै होला सायद आफ्ना बचेराहरु छोडेर एउटा भँगेरो म बसेको नजिकै आयो र उत्सुक भएर (आफ्ना साथीहरु सम्झेरै हुनुपर्छ) धेरै खोजी गर्यो तर कतै भेटेन । उडेर आफ्ना बचेराहरु तिर लाग्यो । यो गतिविधिले मलाई थप उत्सुक बनायो । केही क्षण पछी अझै ठूलो आवाजमा भँगेराको स्वरलाइ गुन्जायमान गराएं र थोरै खाना कौशीमा फालीदिएं । फेरि भँगेरा आयो । थोरै खाना खायो । धेरै बोकेर गयो । अहिले त भँगेरीलाइ नि ल्याएर आएछ । दुइटैले धेरै खाना च्यापेर लिए ।
000
बा ले बजारबाट ल्याएको प्याकेटमा प्रायः एउटा टुक्रा बिस्कुट हराएको हुन्थ्यो । बा भन्नू हुन्थ्यो ‘लौ बाटैमा मुसाले खाइदिए छ ।’ मुसाले खाएको त खांदैखान्न भनेर भुंइमा लट्पटिन्थें । बचेराहरुपनी मुखमा च्यापेको त खांदैखान्न भनेर जिद्दी गर्छन गर्दैनन् होला हँ ?
कयौं प्रहरहरु यसरी नै भँगेराहरु हेरेर बिताउंदैगर्दा बा को कांध सम्झेर झसंग हुन्छु । हिजो त्यो कांधले मलाई बोक्थ्यो । आज बा को कांधले जिम्मेवारी बोकेकोछ । मेरा हरेक सपनाहरुको फुलबारी बा को कांधले सजाएको छ ।
000
बचेराहरु उड्न सिक्ने भैसकेका छन् । चिरबिर गर्दै माउ भँगेराको अघिअघि पछिपछि गर्दै उड्न सिक्दै गर्दा कयौंपटक माउ भँगेराको प्वाँख उडेको देख्छु । बा को काँध र मामाघर जाँदा सधैं मलाई बोक्ने आमाको ढाडपनि त्यसरी नै कयौंपटक खुइल्यो होला ।
मजस्तै दिन भरी डुल्दै खेल्दै झिसमिसेमा बचेराहरु अपार्टमेन्टमा आइपुग्छन । चिरबिर चिरबिर गर्दै थकित रोदन पोक्छन । माउ भँगेराहरु पनि मेरा बाआमा थाकेसरी थाकेहोलान । तैपनी थकानमा मुस्कान भरेर आइज निदरी आइज छुनुमुनुछुनुमुनु भन्दै लोरी गित गाउंदै भंगेरोले गित गायो होला । त्यसैले बचेराहरु रातमा मस्त संग निदाएकाछन् ।
000
भोलि ती भँगेराहरुको मेरो जस्तै दिन बढ्ला । आफुलाइ ठूलो देख्लान । सपनाहरु नौरङ्गी होलान् । माउहरु छोडेर टाढा जालान । के तिनीहरूको मनले माउहरु कै खोरमा (अपार्ट्मेन्ट) आएर माउहरुको सपना पुरागरिदेला ? जसरी बा ले भनेको एउटा कथामा शंकर वायुपंखी घोडा उडाउंदै साबित्रीलाइ राक्षसहरुबाट बचाउन आएथ्यो ।
000
बा र आमा पनि यस्तै सपना देख्नुहुन्छ होला । चङ्गा जति टाढा पुगेपनी लट्टेमै बेरिन आवोस । हिजो मलाई बोकेको काँधमा थोरै मल्हम लगाइदेओस । हिजो खेलेको खेलमैदान जस्तै काखलाइ न्यानो बनाइदेओस । पहिले सुनेको लोरी अहिले बा आमालाई सुनाइदेओस ।
(तीन घण्टा यसरी नै बिति गए छ)