बुद्धि पुन,
सल्यान २८ भदौँ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विकास निर्माणका कामहरूमा सरकार र जनताका विचमा साझेदारी हुनुपर्ने बताउनुभएको छ । जनता संगको साथ र सहकार्य बिना सरकार एक्लैले विकासका काम गर्न नसक्ने बताउदैँ उहाँले सरकारले स्वास्थ्य सहित सबै पुर्वाधार क्षेत्रमा वजेट विनियोजन गर्ने र जनताले बजेट कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनु भएको हो ।
आइतबार सल्यानको दार्मा गाउपालिका वडा नम्बर ४ रातामाटामा आयोजित पालिका अस्पताल भवन उद्घाटन तथा जग्गादाता सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्वास्थ्य क्षेत्रको विकासको लागि प्रदेश सरकार लागि परेको बताउदैँ उहाँले हरेक नागरिकलाई छिटो, छरितो र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन विशेष जोड दिनुपर्ने बताउनु भएको हो ।
मन्त्री ज्वालाले आईसियू र भेन्टिलेटर सहितको सल्यान जिल्ला अस्पतालमा भवन निर्माणको लागि बजेट विनियोजन भएको बताउनुभयो । सोहि अनुसार भवन निर्माणका लागि अबको केहि दिनमा टेन्डर आह्वान गर्ने तयारी भैरहेको उहाँको भनाइ छ ।
अर्को प्रसंगमा ज्वालाले सरकारले राहत होइन काम बाँड्नु पर्ने बताउनुभएको छ । बेरोजगार युवाहरूको लागि प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम लगाएतका थुप्रै कार्यक्रम संचालन गरेको बताउदैँ उहाँले काम पनि दिने र पैसा पनि दिने गरि सरकारले काम गरिरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सल्यान प्रदेश सभा क बाट निर्वाचित प्रदेशसभा सदस्य गुलावजंग शाहले प्रदेश सरकारले विकासको मोडेल परिवर्तन गरेर विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभएको छ । सबै मिलेर विकास निर्माणका कामलाई अगाडि बढाउनु पर्ने बताउदै उहाँले योजना कटौती तथा योजना दोहोरिने गरी काम गर्न नहुने बताउनुभएको हो ।
उहाँले केन्द्रिय सरकारको निर्णय बमोजिम दार्मा सहितका जिल्लाका ६ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणको लागी तयारी भैरहेको जानकारी दिनुभयो ।
यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले पछिल्लो समय आमनागरिकहरु आफ्नो स्वास्थ्यप्रति सजक र सचेत बन्दै गएको बताउनु भएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बनाउन सरकारले तदारुकताका साथ काम गरिरहेको पनि बताउनुभएको हो । साथै तीन वटै तहका सरकारका बीचमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सके स्वास्थ्य संगै हरेक क्षेत्रको विकासले तिव्रता पाउने उहाँको भनाइ छ ।
गाउपालिका अध्यक्ष निम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा कुमाख गाउपालिका अध्यक्ष दिलमाया बुढा मगरले जनताको नजिकको सरकार स्थानीय सरकार भएको बताउनु भएको छ । जनताको स्वास्थ्यलाई आत्मसात गर्दै गाउपालिकाले अस्पताल संचालनको लागि भवन निर्माण गरेको बताउदैँ उहाँले तत्काल अस्पताल संचालन कार्यमा जोड दिनुपर्ने बताउनु भएको हो ।
कार्यक्रममा अस्पताल भवन निर्माणको लागि ३२ रोपनी जग्गा दिने १२ जना जग्गादाताहरुलाई सम्मान गरिएको थियो । कर्णाली प्रदेश सरकारको रु। ५० लाख वजेटवाट भवन निर्माण गरिएको हो । गाउपालिका उपाध्यक्ष टिका शर्मा ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्र बहादुर रावलले गर्नुभएको थियो